काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्न सके भ्रष्टाचार न्यूनीकरण हुने बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले शिक्षा र स्वास्थ्यको सेवा निःशुल्क प्राप्त गर्न सकेमा भ्रष्टाचारमा कमी आउने बताएका हुन् ।

उनले भने, ‘लोकसेवा आयोगको भूमिका बढाउनेदेखि लिएर प्रदेशलाई सञ्चालन गर्ने कुरासँग स्वार्थको द्वन्द्वको कानुनदेखि लिएर संवैधानिक निकायका नियुक्ति सम्मका विषयहरू एक ठाउँ जोडेर राख्यो भने मात्रै हामीले यो नीतिबाट भ्रष्टाचार न्यून गर्छौँ । सुशासन गर्छौँ भनेको लक्ष्य प्राप्त हुने रहेछ ।’

उनले भ्रष्टाचार नियन्त्रणका लागि केवल अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मात्रै बलियो बनाएर नहुने बताए । उनले यसका लागि लोकसेवा आयोगको भूमिका बढाउनेदेखि स्वार्थको द्वन्द्वको कानुन, संवैधानिक निकायको नियुक्ति लगायतको विषयलाई पनि एक ठाउँ जोडेर राख्नुपर्ने बताए ।

महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार र न्यायालयको परीक्षा हुने बताए । न्यायालयले यस विषयमा न्याय गरेँ भनेर मात्रै नपुग्ने भन्दै उनले न्यायको अनुभूति पनि हुनुपर्ने बताए । उनले यस प्रकरणका दोषी कोही पनि छुट्नु नहुने बताए ।

उनले भने, ‘सरकारको परीक्षा पनि छ । सरकारको परीक्षा सकिएपछि अब न्यायालयको परीक्षा सुरु हुन्छ । न्यायालयले पनि यो विषयमा मैले न्याय गरे भनेर मात्र पुग्दैन । न्यायको अनुभूति हुनुपर्छ । यो राज्यविरुद्धको अपराधमा संलग्न भएको एक एक मान्छे चाहे त्यो घरको मान्छे होस्, चाहे त्यो बार्दलीको मान्छे होस् । चाहे त्यो नेता होस् । चाहे त्यो नाता होस् । सलाम गर्ने होस् । सलामी लिने होस् । एक जना मान्छे पनि छुट्नु हुँदैन । दूधको दूध पानीको पानी हुनुपर्छ । आम नेपाली नागरिकले चाहेको कुरा यही हो ।’