काठमाडौंमा तत्कालै सुविधा सम्पन्न पर्यटक बसपार्क निर्माण गर्न माग

काठमाडौं, १० जेठ । नेकपा एमालेकी सांसद विद्या भट्टराईले काठमाडौंमा तत्कालै सुविधा सम्पन्न पर्यटक बसपार्क निर्माण गर्न सरकारसँग माग गरेकी छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले देशका विभिन्न पर्यटकीय सहरहरूमा जाने पर्यटकहरूका लागि व्यवस्थित र सुविधा सम्पन्न पर्यटक बसपार्क काठमाडौंमा निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएकी हुन् ।
उनले भनिन्,‘सरकारले सन् २०२३ देखि २०३३ सम्मलाई नेपाल भ्रमण दशकको रूपमा मनाउने योजना अनुरूप नेपाल पर्यटन दशक रणनीतिक कार्य योजना सार्वजनिक गरेको छ । तर देशको राजधानी काठमाडौंमा आजसम्म टुरिस्ट बसपार्क स्थापना हुन सकेको छैन । व्यवस्थित बसपार्क नबनेका कारण काठमाडौंको सोह्रखुट्टे सडकबाटै बस छुट्न बाध्य छन् ।’
सांसद भट्टराईले नेपाल प्रवेश गरेपछि देशका विभिन्न ठाउँमा जाने पर्यटकहरू काठमाडौंमा बसपार्क नभएका कारण असुरक्षित भइरहेकाले पनि सरकारले उनीहरूलाई लक्षित गरेर बसपार्क बनाउन ढिलाइ गर्न नहुने बताइन् ।
सांसद भट्टराईले सरकारले नेपाल भ्रमण दशक घोषणा गरे पनि त्यस अनुरूपको तयारी गर्न नसकेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरिन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


