काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर हुने बताएका छन् ।

मंगलबार राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिँदै उनले सरकार अब सुशासनको पक्षमा कठोर भएर प्रस्तुत हुने बताएका हुन् ।

‘सरकार सुशासनको पक्षमा दृढतापूर्वक अगाडि बढेको दाबी गर्दै उनले भने, ’सरकारले छानबिन गरेको एउटा विषयमा मात्रै हो कि भन्ने धेरैलाई परेको छ ।सरकार सबैखाले विकृति विसंगतिविरुद्ध कठोर हुन्छ। सरकारले अब अकुत सम्पत्ति पनि छानबिन गर्छ ।’

प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममा विगतमा उपलब्धि समावेश भएनन् भन्नु गलत रहेको बताए ।

एमालेलगायतका सांसदले नीति तथा कार्यक्रम पुनः ल्याउनुपर्ने माग गरे पनि सत्तारूढ दलहरूले यसैबाट समृद्धि हासिल गर्न सकिने दाबी गरेका छन् ।