लालकिशोर साहले चार वर्षपछि पत्रकारसँग मागे माफि

जनकपुरधाम, ९ जेठ । जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साहले अन्ततः पत्रकारहरुसँग माफी मागेका छन् ।
नेपाल बार एशोसिएसन जनकपुरधामका उपसभापति विमलकुमार मिश्र र उपमहानगरका तत्कालिन कानूनी सल्लाहकार विजय प्रताप सिंहको पहलमा भएको छलफलमा साहले गल्ती स्वीकार गरेका हुन् ।
सोमबार धनुषा जिल्ला अदालतमा बेञ्च नम्बर ४ का न्यायधिश भिष्मराज प्रसाइसमक्ष उनले आफुहरुबाट भएको कमी कमजोरी लिखित रुपमा स्वीकार गर्दै मुद्दा फिर्ता लिन वादीहरुसँग आग्रह गरेपछि मिलापत्र भएको छ ।
झण्डै ४ वर्ष देखिको लगाताको पेशीपछि गाली बेइज्जती सम्बन्धि मुद्दामा साहकै आग्रहमा नेपाल पत्रकार महासंघ धनुषाका निवर्तमान अध्यक्ष अनिल कुमार मिश्र, कान्तिपुर टिभिका पत्रकार अमरकान्त ठाकुर, एपीवन टिभिका मधेश प्रदेश ब्यूरो प्रमुख विकास साहलगायतले मिलापत्र गरेका छन् ।
निवर्तमान मेयर लालकिशोर साह र उनका तत्कालीन चालक गंगाराम मण्डल भौतिकरुपमै उपस्थित भई न्यायधिश प्रसाइसमक्ष घटना स्वीकार गरेका थिए ।
२०७६ पुस २२ गते जनकपुरधाम उपमहानगरपालिकामा केही सञ्चारकर्मीले जानकी मन्दिरको पर्खाल मापदण्ड विपरित भत्काइएको सन्दर्भ र ८५ लाख रुपैयाँको चलखेल गरिएको गुनासो पछि सत्यतथ्य बुझ्न कार्यालयमै गइ प्रतिक्रिया लिन खोज्दा सो घटना भएको थियो । तर, साहले आफ्नो कार्यकक्षमै पत्रकार अमरकान्त ठाकुर, अनिल कुमार मिश्र, सुभाष कर्ण, सुमित मिश्र, राजा झालगायतलाई गाली बेइज्जती गर्दै कार्यकक्ष बाहिर अमानवीय व्यवहार गर्न लगाएका थिए ।
यसअघि पनि अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय धनुषाले दुई जनालाई दोषी ठहर गरेको थियो । धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले २०७८ असार २३ गते व्यवसायी धर्मेन्द्र साहलाई ५ सय र निवर्तमान मेयर साहका सचिवालयमा रहेका उपेन्द्र कुमार साहलाई १ हजार रुपैयाँ दण्ड जरिवानाको फैसला गरेको थिए । तर, यस घटनामा उल्टै निवर्तमान मेयर साहले आफ्नो गल्ती ढाकछोप गर्न उपमहानगरको कामकाज १० दिनसम्म ठप्प गरी कार्मचारी र आफ्ना समर्थकहरुबाट पत्रकारहरुविरुद्ध नारा जुलुससमेत निकाल्न लगाएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


