जनकपुरधाम, ९ जेठ । जिल्ला समन्वय समिति धनुषाले आयोजना गरेको पाँचौ जिल्ला सभामा एकजना पनि पालिका प्रमुख सहभागी भएनन् ।

धनुषामा १८ स्थानीय तह रहेकोमा जिससको सभामा एकजना पालिका प्रमुख पनि उपस्थित देखिएनन् । कार्यक्रममा १२ जना उपप्रमुख मात्रै सहभागी थिए ।

सभामा एकजना पालिका प्रमुख पनि उपस्थित नभएपछि जनकपुधाम उपहानगरपालिकाका उपमेयर किशोरी साहले आपत्ति जनाएका छन् ।

उनले भने, ‘जिल्ला सभा जस्तो महत्त्वपूर्ण कार्यक्रममा एकजना पनि पालिका प्रमुख नआउनु दुःखद र निन्दनीय छ । म खेद प्रकट गर्दछु । यसै कार्यक्रमबाट एउटा खेद प्रस्ताव पारित गरौं ।’

जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले पनि सभामा एकजना पालिका प्रमुख पनि उपस्थित नहुँदा दुःख लागेको बताए । पालिका प्रमुखहरुले जिल्ला समन्वय समितिलाई महत्त्व नदिने गरेको उनको गुनासो थियो ।

जिससका सदस्य महेन्द्र महतोले समन्वय समितिलाई पालिका प्रमुखहरुले कुनै महत्त्व नदिएको गुनासो गरे । ‘जिल्ला समन्वय समितिका पदाधिकारीलाई कुनै मतलब गर्दैनन् । के हो र समन्वय समित भन्छन् , हेप्छन् ’ उनले गुनासो गर्दै भने ’ त्यसैले आज पनि कोही प्रमुख उपस्थित हुनु भएन ।’