काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पाँच महिनामा पूर्णता पाएको छ ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले जसपाका एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार वन तथा वातावरण मन्त्रीमा वीरेन्द्र प्रसाद महतो नियुक्त भएका छन् । यस्तै शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी नियुक्त भएकी छन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेर कार्यभार तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यससँगै प्रचण्ड नेतृत्वको सरकारको २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

गत पुस १० गते नेकपा एमाले, रास्वपा, राप्रपासहितका दलको समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए । राष्ट्रपति निर्वाचनमा समीकरण बदलिएसँगै कांग्रेसले प्रचयडलाई थमौती दिएको थियो । त्यसपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिँदा कांग्रेसले समर्थन गरेको थियो । सोहीअनुसार प्रधानमन्त्री प्रचण्डले कांग्रेससमेतका दललाई चित्त बुझाएर मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

एमालेले फागुन १५ गतेसम्म सरकारलाई समर्थन गरेको थियो । त्यो बीचमा प्रचण्डले ४ पटक मन्त्रिपरिषद् विस्तार गरे । जसअनुसार पुस ११ मा सानो आकारको मन्त्रिपरिषद् बनाए । त्यसपछि उनले माघ ३, माघ १४, माघ २३ र फागुन १४ गतेसमेत मन्त्रिपरिषद् विस्तार गरे । करिब मन्त्रिपरिषद्ले पूर्णता पाइसक्दा फेरि समीकरण बदलिएपछि मन्त्रिपरिषद् पनि पुनर्गठन र विस्तार गर्नुपर्ने बाध्यता प्रचण्डलाई आइलाग्यो ।

जसअनुसार प्रचण्डले फागुन १६ गते, चैत १७ गते, वैशाख ३ गते, २१ गते र २४ गते फेरि मन्त्रिपरिषद् विस्तार गरे । मंगलबार फेरि जसपाबाट मन्त्री थप्दै २५ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । जसअनुसार प्रचण्डले मंगलबार वन तथा वातावरण मन्त्रीमा वीरेन्द्र प्रसाद महतोलाई नियुक्त गरेका छन् । यस्तै शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी नियुक्त भएकी छन् ।

अब प्रचण्ड सरकारमा तीन राज्यमन्त्री हुनेछन् । राज्यमन्त्रीमा यसअघि नै सुशीला सिर्पाली ठकुरी (संस्कृति पर्यटन तथा नागरिक उड्ययन) र नन्दा चपाई (भौतिक पूर्वाधार तथा यातायात) रहेका छन् । यस्तै रक्षामन्त्रीमा पूर्णबहादुर खड्का र गृहमा नारायणकाजी श्रेष्ठ रहेका छन् । दुबैजना उपप्रधानमन्त्री समेत हुन् । यस्तै बेदुराम भुसाल कृषि, धनराज गुरुङ कानुन, अशोक राई शिक्षा, शरतसिंह भण्डारी श्रम तथा रोजगार, प्रकाशशरण महत अर्थ मन्त्री रहेका छन् ।

महिन्द्र राय यादव खानेपानी, शक्ति बस्नेत ऊर्जा, एनपी साउद परराष्ट्र, रेखा शर्मा सञ्चार, मोहन बस्नेत स्वास्थ्य, सुदन किराती पर्यटन, अमनलाल मोदी सामान्य प्रशासन, प्रकाश ज्वाला भौतिक पूर्वाधार, सञ्जिता श्रेष्ठ, भूमि व्यवस्था तथा सहकारी, रमेश रिजाल उद्योग, सिता गुरुङ सहरी विकास, डिगबहादुर लिम्बु युवा तथा खेलकुद र सुरेन्द्र राज आचार्य महिला तथा बालबालिका मन्त्री छन् ।