मधेस प्रदेश : ६ दलीय गठबन्धनको बैठक निष्कर्षविहिन

जनकपुरधाम, ८ जेठ । मधेस प्रदेशमा मन्त्रीपरिषद विस्तारका लागि बसेको ६ दलीय सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहिन टुंगिएको छ ।
मधेस सरकारमा मन्त्रालय भागबण्डालगायत अन्य समसामयिक विषयमा छलफल गर्न सोमबार ६ दलीय सत्तारुढ गठबन्धनको बैठक बसेको थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा मन्त्रिपरिषद विस्तारको विषयमा छलफल भएपनि निष्कर्ष निस्कन नसकेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संसदीय दलका नेता अभिराम शर्माले जानकारी दिए ।
उनले गठबन्धन दलहरुबीच बैठक बसेपनि सोमबार कुनै ठोस निष्कर्ष ननिस्केको बताए । बैठकमा सरकारमा लोसपा, नेकपा एस र नेपाली कांग्रेसको सहभागिताबारे छलफल भएपनि निर्णय भने हुन नसकेको जानकारी दिए ।
नेता शर्माले मन्त्रीपरिषद विस्तार, सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटलाई जनतामुखी बनाउने विषयहरुबारे गठबन्धन दलका नेताहरुबीच गम्भीर छलफल भएको बताए ।
उनले मंगलबार पुनः बैठक बसेर प्रदेश सरकार विस्तार एवम् मन्त्रालय बाँडफाँडबारे छलफल हुने बताए ।
गत चैत २२ गते नेकपा एमालेले मधेस प्रदेश सरकार छाडेसँगै चारवटा मन्त्रालय खाली छ । जसपाले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय लिएको छ भने जनमत पार्टीले दुई र माओवादी केन्द्रले एउटा मन्त्रालय लिएको छ ।
मधेस प्रदेशमा वर्तमान जसपा नेतृत्वकै सरकारलाई निरन्तरता दिने सहमति भएको थियाृ । गत शुक्रबार बालुवाटारमा सत्तारुढ दलहरुबीचको छलफलमा आलोपालो प्रणालीअनुसार तत्काल सरोजकुमार यादव नेतृत्वको सरकारलाई नै निरन्तरता दिने सहमति भएको थियो ।
वैशाख १० को उपचुनावअघि भएको सहमतिअनुसार सत्तारुढ गठबन्धनका दलहरुले जसपालाई मुख्यमन्त्री छाड्न दबाव दिइरहेका थिए । तर, जसपाले आफ्नो अडान कायम राख्दै मुख्यमन्त्री छाड्न नचाहेको र यादव नेतृत्वकै सरकारमा आउन अन्य दललाई पनि प्रस्ताव गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


