जनकपुरधाम, ८ जेठ । धनुषा प्रहरीले स्रोत नखुलेको २० लाख रूपैयाँसहित जनकपुरधामबाट एक हुण्डी कारोवारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत सितामढी ग्राम पञ्चायत मनपुर घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–६ मा डेरा लिएर बस्दै आएका २५ वर्षीय रन्धिर ठाकुर रहेका छन् ।

ठाकुरलाई विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र जानकी प्रहरी चौकीबाट खटेको संयुक्त प्रहरी टोलीले सोमबार बिहान ९ बजे जनकपुरधाम–६ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

ठाकुरलाई चेकजाँच गर्दा हरियो झोला भित्र स्रोत नखुलेको नेपाली २० लाख रूपैयाँ फेला परेको डीएसपी गौतमले बताए ।

पक्राउ परेका उनलाई नगदसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।