जनकपुरधाम, ८ जेठ । दाइजोका कारण धनुषामा एक महिलाको हत्या गरिएको मृतकका माइती पक्षले आरोप लगाएको छ । जिल्लाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई हाल जनकपुरधाम–९ थापा चोकमा बस्दै आएका श्रीमान, सासु, ससुरा र देवर मिलेर महिलाको हत्या गरेको उनको माइती पक्षले आरोप लगाएको हो ।

जिल्लाको नगराइन नगरपालिका–८ खिरखिरिया बस्ने विनोद प्रसाद साहकी २२ वर्षीया छोरी आरतीकुमारी साहको उनका श्रीमान् मोतीबाबु साह, ससुरा मदन मोहन साह, सासु रेणु देवी साह र देवर रवि साह मिलेर हत्या गरेको मृतकका बुबा विनोद प्रसाद साहले आरोप लगाएका छन् ।

करिव दुई वर्षअघि २५ लाख नगद दिएर आरतीको विवाह मोतीबाबुसँग गरेको मृतकका बुबा विनोदले बताए । यसअघि पनि आफ्ना छोरीलाई उनका श्रीमान, ससुरा र सासु मिलेर थप दाइजो माग गर्दै आएको बताउँदै विनोदले भने, ‘दहेजको थप रकम नदिदाँ पटक पटक आरतीलाई उनीहरुले कुटपिट गर्दै शारीरिक र मानसिक तनाब दिँदै आएका थिए ।’

‘छोरीलाई कुटपिट गरेको देख्दा मैले धेरै पटक रकम पनि दिए, उनले भने, ‘आइतबार उसको श्रीमान्, ससुरा, सासु र देवर मिलेर कुटपिट गर्नुका साथै घाँटी थिचेर हत्या गरेका हुन् ।’

स्थानीयवासीलाई उद्धृत गर्दै मृतकका बुबा विनोदले भने, ‘घाँटी थिचेपछि आरती कराएको थियो, त्यसपछि टोलका मानिसहरु भेला हुन थालेपछि आरतीले झुण्डेर आत्महत्या गर्यो भन्दै नाटक गरियो ।’

उनले विगतमा पनि पटक पटक थप दहेजका लागि आरतीलाई उनीहरुले दबाब र कुटपिट गर्दै आएको दाबी गरे । १२ दिन अघिमात्र आरतीलाई माइतीबाट बोलाएर लगेको र आइतबार साँझ पुनः दहेजकै रकमका लागि उसको टाउको लगायत शरीरको विभिन्न भागमा कुटपिट गरी घाँटी थिचेर हत्या गरेको विनोदको आरोप छ ।

आरतीका ससुरा, श्रीमान र सासुले पोल खुल्ने डरले मृत शरीर नै काव्या अस्पतालमा उपचारका लागि लगेको उनको दाबी छ । उनले आरतीले झुण्डेर आत्महत्या गर्यो भन्दै आफूलाई साँझ फोन गरेर जानकारी गराइएपनि घटना भने दिनमै घटाइएको जिकिरसमेत गरेका छन् ।

उनले मोतीबाबुको काठमाडौंमा अर्कै केटीसँग सम्बन्ध रहेको र आरतीलाई सोबारे जानकारी हुँदा पटक पटक उनीहरुबिच मनमुटावसमेत हुँदै आएको बताए । विनोदले मोतीबाबुको बानिवेहोराबारे आफूहरुले विवाह भएपश्चात् जानकारी पाएको र विवाहको बेला आफूहरुलाई केटा इन्जिनियर छ भन्दै छोरीको विवाह गरिएपनि उनी भने ब्रोकरको काम गर्दै आएको कुरा आफूहरुले पछिबाट थाहा पाएको बताए ।

यता, मृतकका श्रीमान मोतीबाबु साहले आइतबार आरतीको स्वास्थ्य अवस्था खराब रहेकोले उनी मध्यान्ह १२ बजेसम्म बेडमै रहेको सुनाए ।

उनले भने, ‘हिजो आरतीलाई सञ्चो थिएन, उनी १२ बजे सुतेर उठिन, मैले उसलाई खाना खान आग्रह गरें । तर, उनले मानिनन् । उल्टै मलाई नै गाली गर्न थालिन । सोही क्रममा आवेशमा आएर मैले उसलाई एक झापड हिर्काएर म घरबाट निस्किहाले । साँझ घर जाँदा आरतीलाई खोजें । पछि मैले कोठाको चुकुल भित्रबाट बन्द भएको बुझें । बाहिरबाट धेरै पटक हल्ला गर्दा पनि नसुनेपछि अन्त्यमा ढोका तोडरे हेर्दा आरती पंखामा झुण्डेर आत्महत्या गरेकी थिइन् । म अक्क न बक्क भएँ ।’

यता, प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । उनले भने, ‘पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र आत्महत्या वा हत्या भन्न सकिन्छ । यसका लागि प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ ।’

यसैबिच, प्रहरीले मृतकका श्रीमान मोतीबाबु र ससुरा मदन मोेहन साहलाई नियन्त्रणमा लिएको बताइएको छ ।