काठमाडौं, ८ जेठ । नेकपा एमालेका नेता एवं प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पिछडिएको वर्ग र समुदायका लागि ठोस कुरा नभएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भट्टराईले नीति तथा कार्यक्रमको बुँदा नं १ मा उल्लेखित जनयुद्ध शब्दप्रति आपत्ति जनाए । उनले यो शब्द नेपाली कांग्रेसलाई मान्य हुन्छ कि हुँदैन भनी प्रश्न गरे ।

‘विगतमा भएका आन्दोलनको व्याख्या गर्दै जनयुद्ध भन्ने शब्द प्रयोग भएको छ । यो विषयमा संविधानसभामा प्रयाप्त बहस भएको थियो ।२०७२ सालको संविधानपछि नेपालका कुनै पनि दस्तावेजमा यो शब्द उल्लेख भएको छैन । पहिलोपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजीले यो शब्द राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाउनु भएको छ,’ उनले भने, ‘कांग्रेसले यसलाई स्वीकार्छ भने कांग्रेसकै इन्ड अफ द हिस्टी हो ।’

नेता भट्टराईले नेपाललाई एउटा समतामुखी राज्यका रूपमा विकास गर्न महिला, दलित, पिछडिएको क्षेत्र र राज्यको मूलप्रवाहीकरणमा समेटिन नसकेका व्यक्तिका लागि नीति तथा कार्यक्रममा विशेष कार्यक्रम हुनुपर्ने बताए ।

हिमाली र पहाडी क्षेत्रबाट मानिस तराई र ठूला सहरमा बसाइँसराइ गरिरहेको उल्लेख गर्दै उनले हिमाल र पहाडमा स्थानीय मानिसलाई अड्याउन सकिएन भने देशको संरचना के हुन्छ भनी प्रश्न गरे ।

मध्यपहाडी पुष्पलाल राजमार्गको निर्माण बसाइँसराइ रोक्नका लागि गरिएको बताउँदै सांसद भट्टराईले मधेसका उर्वर भूमि खण्डित र बिक्री नहोस् भनेर आफूहरूले त्यो अवधारणा ल्याएको जिकिर गरे ।

उनले भैरहवाको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थान बनाउनु कमजोरी नभएको स्पष्ट पार्दै व्यवसायिकरूपमा सञ्चालन गर्न नसक्नु चाहिँ कमजोरी भएको बताए । भारतसँग कूटनीतिक सम्झौतामार्फत विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अघि बढाउन उनले सुझाव दिए ।