लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, तीनजना मन्त्री थपिए

दाङ, ८ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनको क्याबिनेटमा तीनजना मन्त्री थपिएका छन् ।
मुख्यमन्त्री चौधरीले कांग्रेस, जसपा र जनमतबाट एक/एक जना गरी तीनजना मन्त्री थपेर ७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्री, जनमतबाट चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री र जसपाबाट भण्डारीलाल अहिर कृषिमन्त्री बनेका छन् ।
त्यस्तै दुईजना विनाविभागीय मन्त्रीको पनि जिम्मेवारी तोकिएको छ । नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेलाई आन्तिरिक मामिला तथा कानुन मन्लायको जिम्मेवारी तोकिएको हो ।
नवनयिुक्त मन्त्रीहरुको शपथग्रहण आजै बेलुका ४ बजे बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा हुने मुख्यमन्त्री सचिवालयले जनाएको छ । यसअघि नेकपा माओवादी केन्द्रका धनबहादुर मास्कीले आर्थिक मामिला मन्त्रालयले जिम्मा पाएका थिए ।
लुम्बिनीमा अझै केही मन्त्रालय रिक्त रहेका छन् । बाँकी मन्त्री बजेटपछि नियुक्त हुने सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।
माओवादीमा आन्तरिक विवाद भएपछि बाँकी मन्त्री नियुक्ति बजेटपछिका लागि तय भएको स्रोतले जनाएको छ । लुम्बिनीका मुख्यमन्त्री चौधरीले बैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए ।
डिल्ली चौधरी नेतृत्वको सरकारलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक/एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


