काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट पारित हुने बताएका छन् ।

बेपत्ता योद्धा परिवार समाजले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सबै दलको सहमतिमा नै सो विधेयक संसदबाट पारित हुने दाबी गरेका हुन् ।

प्रधानमन्त्री दाहालले वेपत्ता योद्धाहरुको स्थिति सार्वजनिक गर्ने, उनीहरुलाई सहिदको सम्मान दिने र परिवारलाई उचित क्षतिपूर्ति, परिपुरणसहितको व्यवस्था गर्न आफू पूरै लागिपर्ने बताए । शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्रै टुंगोमा पुर्याउने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले जनयुद्ध र जनआन्दोलनका योद्धाहरुलाई सहिद घोषणा गर्ने, फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने काम गरेकोमा आफूलाई गर्व लागेको बताए ।

प्रधानमन्त्री दाहालले माओवादी लडाकुहरुलाई दुई लाख दिने निर्णय अदालतको अन्तरिम आदेशका कारण रोकिएको समेत स्पष्ट पारे । उनले आफूले कुरा थोरै र काम धेरै गर्ने गरेको पनि उनले दोहोर्याए ।