काठमाडौं, ७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणले थप रहस्य खोल्नसक्ने बताएका छन् ।

दबाउनै नसकिने गरी यो प्रकरण सार्वजनिक भएको उल्लेख गर्दै उनले आगामी दिनमा घटना थप भयावहरूपमा निस्किने बताएका हुन् ।

‘यो पचाउन सक्ने, दबाउन सक्ने केसै हैन । भुइँचालो मैले ल्याएँ भन्नु बेकार छ । आफैं आएको हो भुइँचालो । यो कुरा भोलि अझ भयावहरूपमा निस्किन्छ । आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिन्न,’ आइतबारको प्रतिनिधि सभाको बैठकमा ओलीले भने ।

उनले आफ्नो समयमा भुटानी शरणार्थी प्रकरणमा केही पनि नभएको उल्लेख गर्दै छानबिन गर्न चुनौती पनि दिए ।

‘मेरो समयमा केही पनि गएको छैन । छानबिन गर्नुस् फेरि पनि । एउटा समिति बनेछ, त्यो समितिले केही प्रस्ताव पठाएछ, मैले अध्ययन गर्ने भनेर राखे, होल्ड गरे,’ ओलीले भने ।

उनले आफूविरुद्ध मुद्दैमुद्दा रहेको उल्लेख गर्दै कागजसमेत हेर्न नभ्याएको बताए ।

‘मलाई पिङ खेलाकोलाई हुनुहुन्थ्यो । मुद्दै मुद्दा, विरोधैविरोध, भित्तामा टाँसिदिन्छु भन्या छ, धुलोमा मिलाइदिन्छु भन्या छ, न मिलाइदिने पो हो कि भन्ने अवस्था थियो,’ ओलीले भने ।

उनले यस प्रकरणमा निर्दोषलाई फसाउने प्रयास भइरहेको दाबी पनि गरे । ‘कोही दोषी छुट्नु हुँदैन, दोषी उम्काउने, निर्दोष फसाउने प्रयास भइरहेको छ,’ ओलीले भने ।

उनले यो प्रकरणको छानबिनमा हस्तक्षेप नगर्न पनि सरकारलाई आग्रह गरे ।