देश अन्तर्राष्ट्रिय रुपले अहिले विश्वासको संकटमा फसेको छ : जसपा अध्यक्ष यादव

जनकपुरधाम, ७ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीति तिव्रगतिमा ध्रुवीकरण भइरहेको बताएका छन् ।
आइतबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने र फेरि मुलुकलाई पछाडि धकेल्ने भरपुर प्रयासहरु भइरहेको बताए । उनले यसमा मधेसको नाममा रहेका केही शक्तिलाई पनि परिचालित गरिएको दाबीसमेत गरेका हुन् ।
उनले भने, ‘संघीयतालाई समाप्त पार्ने विभिन्न खेलहरु अहिले पनि भइरहेका छन् । त्यसैले संघीयतालाई संस्थागत गर्न र यसलाई स्थापित गर्न इतिहासको गतिलाई अगाडि बढाउनु पर्ने आजको महत्वपूर्ण आवश्यकता छ । जसपा नेपाल सदैव संघीय गणतन्त्रलाई संस्थागत गर्दै अगाडि बढ्ने पक्षमा छ । यसबाट हामी एक कदम पनि पछाडि हट्नेवाला छैनौं ।’
अबको आवश्यकता संघीय प्रणाली, जनताको संघर्ष र बलिदानको उपलब्धि रहेको भन्दै अध्यक्ष यादवले प्रदेशलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिए ।
‘प्रदेश सरकारलाई मजबुत बनाउनु पर्छ । प्रदेश सरकारसँग अहिले न त प्रहरी प्रशासन छ न त आर्थिक स्रोत छ । यस्तो पनि सरकार हुन्छ ?, प्रश्न गर्दै उनले भने, ’एउटा कुनै चोरलाई पनि समात्यो भने उसलाई अदालत लग्ने अधिकार पनि प्रदेश सरकारसँग छैन् । यस्तो अवस्थाको अन्त्य गर्नुपर्छ ।’
संघीयता विरोधी तत्वहरुको विपरीत गतिविधि रहेको बताउँदै उनले प्रदेशको अधिकार कटौति गर्ने, आर्थिक स्रोतलाई कटौति गर्दै विस्तारै कमजोर पारेर काम नै गर्न सक्ने अवस्थामा नल्याई समाप्त पार्ने षडयन्त्र भइरहेको जिकिरसमेत गरे ।
‘संसदमा संघीय निजामति ऐन, कर्मचारी समायोजन, प्रदेश प्रहरी गठन र आर्थिक स्रोत साधनमा प्रदेशको अधिकार बारे आवाज उठाउनु पर्छ, ‘उनले भने, कर्मचारीतन्त्र अहिले पनि हावी छ । संघीयतालाई बाध्यतावस स्वीकार गरेपनि संघीयता विरोधी तत्वको नीति निर्माणले यो देश चलिरहेको छ ।’
नक्कली भुटानी शरणार्थी प्रकरणबारे अध्यक्ष यादवले भने, ‘आजभन्दा ७÷८ सय वर्ष पहिले मानव व्यापार भइरहेकोमा त्यो कामले अहिले आधुनिक रुप लिएको छ । राष्ट्रवादको ठूलो ठूलो नारा दिने, दौरा, सुरुवाल र टोपी लगाएर मधेशीलाई गाली गर्दै राष्ट्रवादीको नारा दिनेहरुले अहिले आफ्नै देशको नागरिकलाई भुटानी बनाएर उसको पनि व्यापार सुरु गरिसके । यसबाट नेपालको छवी अन्तर्राष्ट्रिय जगतामा धुमिलो बनेसँगै नेपालमाथि मित्रराष्ट्रहरुले पनि विश्वास गर्नसमेत छोडिसकेका छन् । देश भने विश्वासको संकटमा फसेको छ ।
विगतको गलत नीति र गलत योजनाका कारण देश अहिले आर्थिक संकट फस्दै गइरहेको बताउँदै उनले नेपालमा उपलब्ध स्रोत साधनलाई उत्पादनमुखि बनाएर अगाडि बढे गरिबी र बेरोजगारी अन्त्य हुने दाबी गरे । कृषि उत्पादन, गुणस्तर शिक्षा, रोजगारी सिर्जना प्रदेश सरकारका लागि अवसर र चुनौति दुबै रहेको अध्यक्ष यादवको भनाइ थियो ।
यादवले भने, ‘नागरिकताको समस्या राजनीतिक समस्या छ । दुई/दुई पटक संसदबाट पारित भएपनि नागरिकता विधेयक राष्ट्रपतिको टेबलमा राखिएको छ । त्यसैले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेललाई यथाशीघ्र नागरिकता विधेयक पारित गरेर संविधानको पालना गर्न आग्रह गर्दछु । आफ्नो देशको नागरिकलाई नागरिकता दिनु राज्यकै दायित्व छ । नदिए ठूलो अपराध हुन्छ ।’
अध्यक्ष यादवले संघीय निजामति ऐन यसै संसदबाट पास गरेर कर्मचारी व्यवस्थापन, प्रशासन व्यवस्थापन र प्रहरी ऐन प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । उनले यसै कार्यमाथि नै वर्तमान सरकारको भविष्य निर्भर रहेकोसमेत जिकिर गरे ।
मधेसी, जनजाति, दलित, महिला, थारु, सिमान्तकृत र बहिष्कृत समुदायका लागि राज्यले विशेष नीति र कार्यक्रम बनाउनु पर्ने आवश्यकता रहेको बताउँदै अध्यक्ष यादवले मधेसको विकासका लागि विशेष आर्थिक प्याकेजका साथ कामहरु पहिलो पटक यस वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको दाबी गरे ।
उनले यसलाई बजेटमा पनि यसै रुपले समावेश गर्नुपर्ने र राज्यको सबैभन्दा बढि लगानी मधेसको विकासका लागि हुनुपर्नेमा जोड दिएका छन् । यादवले संघ सरकारले ल्याउने आगामी बजेट, व्यवहार र कार्यान्वयनमा आउनु आवश्यक रहेको धारणा राखे ।
अर्को प्रसंगमा बोल्दै अध्यक्ष यादवले मधेस प्रदेशलाई आर्थिक, राजनीतिक र सांस्कृतिक स्पान्तरण गर्दै जागरुक, सुसंस्कृत, विकसित र समृद्ध प्रदेशको निर्माण आजको टडकारो आवश्यकता रहेकोसमेत बताए ।
उनले भने, ‘मिथिलाको प्राचिन एवम् एतिहासिक गौरवलाई उजागर गरी संसारमा बेग्लै पहिचान बनाउनु पर्ने आवश्यकता छ । यस कार्यमा अन्य क्षेत्रका साथै पत्रकारलाई पनि यस अभियानमा सहभागी हुन अपिल गर्दछु । प्राचिनमा मिथिला कला संस्कृति मात्र नभई साहित्य र ज्ञान आर्जन गर्ने महत्वपूर्ण केन्द्रको रुपमा थियो । तर, वर्तमान मिथिला शिक्षामा सबैभन्दा पछाडि, आर्थिक रुपले सबैभन्दा बढि विपन्न एवम् सामाजिक सांस्कृतिक विकृतिबाट ग्रस्त बनेको देखिन्छ । तसर्थ समाजलाई रुपान्तरण गर्नुपर्ने आजको महत्वपूर्ण आवश्यकता छ । पत्रकार, साहत्यिकार, कलाकार यसमा नलागेसम्म यसको उत्थान सम्भव छैन ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


