जनकपुरधाम, ७ जेठ । जनमत पार्टीले जनप्रतिनिधि अनुमोदन जनमत संग्रह गर्न लागेको छ ।

पार्टी अध्यक्ष डाक्टर सीके राउतले आइतबार एक सूचना जारी गर्दै आगामी साउन ६ गते जनप्रतिनिधि अनुमोदन जनमत संग्रह गर्न लागेको जानकारी दिएका हुन् ।

उनले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिको काम सन्तोषजनक रहे/नरहेको बारे जनमत संग्रह गर्ने निर्णय भएको बताए ।

पार्टी अध्यक्ष डाक्टर राउतले जनप्रतिनिधिको काम सन्तोजनक नरहे फिर्ता बोलाउने पार्टीको नीति रहेको जानकारी गराउँदै जनमत संग्रह गर्न लागिएको जानकारी दिए ।

सूचनामा जनमत पार्टी ‘राइट टू रिकल’ को अवधारणामा आस्था राख्ने पार्टी भएकोले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको समग्र कार्यमूल्याङ्कन गरी समय–समयमा सकारात्मक सुझाव दिएर जनताको हकमा काम गर्न अभिप्रेरित गर्ने, सचेत गराउने तर जनताको अपेक्षा प्रतिकूल भई नियन्त्रणबाहिर गएमा आवश्यक कारबाही गर्ने वा जनप्रतिनिधिलाई पार्टीले फिर्ता बोलाउने समेत गर्ने गरेको उल्लेख छ ।

२०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएको करीब एक वर्ष पुगेको छ ।

मतदानको व्यवस्था जनमत पार्टी निर्वाचित भएका सम्बन्धित स्थानीय तहले नै मिलाउने छन् । मतदानमा २०८० वैशाख ३० गतेसम्म सदस्यता लिएका सम्बन्धित वडा÷पालिकाको जनमत पार्टीका सदस्यहरुले भाग लिन पाउनेछन् ।