कार्यकक्षमा राष्ट्रप्रमुखको तस्बिरको ठाउँमा वडाध्यक्षका बुबाको तस्बिर

बारा, ६ जेठ । मधेस प्रदेशको बारा जिल्लास्थित जीतपुर सिमरा उपमहानगरपालिकाका एक वडाध्यक्षले आफ्नो कार्यकक्षमा आफ्नो पिताको तस्बिर झुन्डाएका छन् ।
जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष सुनिलकुमार गुप्ताले आफ्नो कार्यकक्षमा बहालवाला राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिरको ठाउँमा आफ्ना स्वर्गीय पिता सत्यनारायण गुप्ताको तस्बिर झुन्डाएका हुन् ।
स्थानीय तह निर्वाचन सम्पन्न भएको एक वर्ष बितेपनि नेकपा एमालेबाट निर्वाचित भएका वडाध्यक्ष गुप्ताले आफ्नो कार्यकक्षमा निवर्तमान राष्ट्रपति विद्यादेखि भण्डारीसँगै आफ्ना स्वर्गीय पिता सत्यनारायण गुप्ताको तस्बिर झुन्डाएका छन् ।
यस सम्बन्धमा गुप्ताले उपमहानगरसँग बहालवाला राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर मागे पनि हालसम्म नपाएको बताए ।
उनले भने, ‘कार्यालयका लागि मैले बहालवाला राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर उपमहानगरसँग मागेको छु तर, उहाँहरूले दिनुभएको छैन ।’
यता, उपमहानगरले भने जनप्रतिनिधिले आफ्नो कार्यकक्षमा परिवारको निजी तस्बिर राख्दा नजिर गलत बस्ने जनाएको छ । उपमहानगरका कानुनी सल्लाकार दामोदर पौडेलले कानुनले अनिवार्य नभनेपनि वडाध्यक्ष गुप्ताले आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर नराखी परिवारको सदस्यहरूको निजी तस्बिर राख्नु नैतिक रूपमा गलत रहेको बताए ।

उपमहानगरका प्रशासकीय प्रमुख हरिलाल पुरीले कार्यालय प्रमुखको कार्यकक्षमा राष्ट्रप्रमुख र सरकार प्रमुखको तस्बिरको ठाउँमा निजी तस्बिर झुन्डाउन नमिल्ने जिकिर गरे ।
नेपाल सरकार मातहतका कार्यालयमा राष्ट्रप्रमुख र सरकार प्रमुखको तस्बिर झुन्डाउने प्रचलन छ । सरकारले सार्वजनिक गरेको सरकारी मर्यादाक्रममा राष्ट्रपति पहिलो र प्रधानमन्त्री तेस्रो स्थानमा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


