कृषि र पशुपालनबाट मात्र देशको अर्थतन्त्रमा सुधार हुन्छ : मन्त्री भुसाल

काठमाडौं, ६ जेठ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि र पशुपालनबाट मात्र देशको अर्थतन्त्रमा सुधार हुने बताएका छन् ।
भूमिकास्थान नगरपालिकामा आयोजित कृषिमन्त्री भुसालको सम्मान तथा अन्तरक्रियामा बोल्दै मन्त्री भुसालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि कृषिमा केही गर्न सकिन्छ भन्ने छनक देखिएको बताउँदै कृषि र पशुपालनको क्षेत्रको विकासले मात्रै अर्थतन्त्र बलियो हुने बताएका हुन् ।
कृषि र पशुपालनमा उत्पादन वृद्धि भएमा आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन बढाउन सकिने उनको भनाइ छ । उनले नेपालमा १० लाख ३० हजार हेक्टर जमिन बाँझो रहेको र त्यस्तो जग्गामा सामूहिक खेती र सहकारी खेती गरेर उत्पादन वृद्धि गर्ने सरकारको योजना रहेको बताए ।
बाँझो जमिनमा एकल खेती होइन, सामूहिक तवरको खेती गरिने भन्दै उनले पहिलेजस्तो गोरुले जोतेर, कोदाली खनेर गरिने खेतीको लागत मूल्य बढ्ने भएकाले व्यावसायीककरण र यान्त्रिकीकरणबाट उत्पादन बढाउनु अहिलेको आवश्यता रहेको बताए ।
धान, मकै, गहुँलगायतको मूल्य उत्पादन हुनुभन्दा पहिले नै तोकिने उनले बताए । यसभन्दा पहिला उत्पादन भएपछि धानको तथा उखुको मूल्य निर्धारण हुँदै आएकामा अब बाली लगाउनुभन्दा पहिले नै मूल्य निर्धारण हुने मनत्री भुसालले जानकारी दिए ।
भूमिकास्थान नगरपालिकाका प्रमुख झबिलाल थापाले नगरपालिकामा रहेको पाखोबारी तथा खेतका फाँटमा अन्नबाली, फलफूल, तरकारी र जडीबुटीको माध्यमबाट उत्पादन वृद्धि गर्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


