नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने चेतावनी

काठमाडौं, ६ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने बताएका छन् ।
शनिबार संघीय संसद भवनमा आयोजित पार्टीको संसदीय दल बैठकमा बोल्दै उनले सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकाले त्यसलाई स्वीकार गर्न, समर्थन गर्न नसकिने बताएका हुन् ।
सरकारले देशलाई निर्देश गर्न नसक्ने खालको नीति तथा कार्यक्रम ल्याउनु दुःखद् भएको भन्दै ओलीले त्यसलाई संसदबाट पारित गर्न हुन नहुने पार्टीको अडान रहेको पनि स्पष्ट पारे ।
‘यो एउटा बेकारको पुलिन्दा हो । जसले यस देशलाई निर्देशित गर्न सक्दैन । नीतिगत हिसाबले निर्देशित गर्न सक्दैन । कार्यक्रमिक हिसाबले निर्देशित गर्न सक्दैन,’ उनले भने, ‘यसले कुनै डेष्टिनेशन नै तोकेन । कुनै बाटो नै देखाएन । जसले गर्दा त्यहाँ पुगिने भन्ने कुरै रहेन ।’
यसले नीतिगत रुपमा कुनै मार्गनिर्देश नगर्ने भएकाले स्वीकारयोग्य नरहेको उनको भनाइ छ । ‘समर्थनयोग्य छैन । विरोधयोग्य छ । र, यस्तो फाल्तु कार्यक्रम, नीतिका नाउमा दस्तावेज पेस हुनु दुःखको कुरा हो,’ उनले भने, ‘यसर्थ, यसलाई पास गर्न मिल्दैन, हुँदैन । यसको विरोध गर्नुपर्छ । हाम्रो मुख्य पोजिसन त्यही हो ।’
अध्यक्ष ओलीले सरकारको सो नीति तथा कार्यक्रम वार्षिक नीति तथा कार्यक्रम जस्तो नभएको र यसमा देश बनाउने कुनै पनि खालको प्रतिबद्धता नआएको दाबी गरे । नीति तथा कार्यक्रममा दुई वर्षमा गर्ने काम पनि उल्लेख गरिएकोमा कटाक्ष गर्दै अध्यक्ष ओलीले गठबन्धनले आफ्नो कार्यकाल दुई वर्ष तोकेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले दुई वर्षकै कार्यक्रम राखेको हुनसक्ने भन्दै व्यंग्य गरे ।
अध्यक्ष ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम २० वर्षे, पञ्चवर्षीय वा के हो ? भन्ने यकिन नभएको बताए ।
ओलीले मुलुकको अर्थतन्त्रको समस्या समेत सरकारको नीति तथा कार्यक्रममा उल्लेख नभएको जिकिर गर्दै आपत्ति जनाए । महालेखा परीक्षक कार्यालयको प्रतिवेदन राजनीतिक पूर्वाग्रहले प्रेरित रहेको आरोपसमेत उनले लगाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


