काठमाडौं, ६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले देशमा नीतिगत भ्रष्टाचार बढ्दै गएको बताएका छन् । शनिबार अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

कागजपत्र, नियमावली संशोधन र सके संवधान नै संशोधन गरेर नीतिगत भ्रष्टाचार हुने गरेको बताउँदै उनले अहिले गल्ती गर्नेहरुलाई समात्न पनि अफ्ठ्यारो हुनेगरी नीतिगत भ्रष्टाचार भइरहेको उल्लेख गरे । अर्थसम्बन्धी विषय अर्थ मन्त्रालयमा नै गएर टुंगिने भन्दै उनले नीतिगत भ्रष्टाचार रोक्न नयाँ सोच अघि सार्नुपर्ने बताए ।

बजेटको आकार विश्वसनीय बनाउन आवश्यक रहेको बताउँदै उनले बजेट विश्वसनीय बनाउन अप्रिय निर्णय लिन आवश्यक रहेको बताए । सांसद वाग्लेले लाइसेन्सिङ र पोलिसी करप्सनलाई प्रहार गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘बजेटको आकार विश्वसनीय भएको छैन, यसमा अप्रिय निर्णय गरिदिनुहोला । समग्र बजेटको विश्वसनीयतामा कस्ता–कस्ता अंक तोक्नुहुन्छ भन्ने कुराले तय गर्छ ।’

अनुदान सुकेको भन्दै सांसद वाग्लेले बजेट विश्वसनीय बनाउने हो भने अप्रिय र निर्मम कदम चाल्नुपर्ने बताए ।