जनकपुरधाम, ६ जेठ । मधेश प्रदेशमा नक्कली नोटको कारोबार बढेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार गत साउनदेखिको ९ महिनामा नक्कली नोट कारोबारसम्बन्धी ३१ वटा घटना भएको छ । तीमध्ये रौतहटमा ११, सर्लाहीमा ६, सिरहामा ४, पर्सा र महोत्तरीमा ३–३, बारामा २ र धनुषा तथा सप्तरीमा १–१ वटा घटना भएका छन् ।

प्रहरीले यस घटनाहरुमा ३५ जनाभन्दा बढीलाई पक्राउ गरेको छ । प्रहरीले यस ९ महिनाको अवधिमा २६ लाख ४८ हजार ४ सय रुपैयाँ नेपाली नक्कली नोट, मेसिनहरू र नोट छाप्न प्रयोग हुने ९९ बण्डल कागज बरामद गरेको प्रदेश प्रहरी कार्यालय, जनकपुरले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा प्रदेशका ८ वटै जिल्लाबाट २९ लाख ३४ हजार ९२० रुपैयाँ नेपाली नक्कली नोट र ३ लाख ७८ हजार ९७० रुपैयाँ भारतीय नक्कली नोट बरामद गरेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा ३० लाख ११ हजार ६ सय रुपैयाँ नेपाली नक्कली नोट बरामद भएको थियो । सोही आर्थिक वर्षमा प्रहरीले ९७ हजार भारतीय नक्कली नोट पनि बरामद गरेको थियो ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले नक्कली नोट कारोबारले देशको अर्थतन्त्र ध्वस्त पार्ने भएकाले अपराधको सूचना प्राप्त हुनासाथ प्रहरी कारबाहीमा उत्रिने गरेको बताए ।