रौतहट, ६ जेठ । रौतहटमा छुरा प्रहार गरेर एकजनाको हत्या गरिएको छ । जिल्लाको गौर नगरपालिका–७ सिसवा टोलका ४५ वर्षीय यार महम्मद खानको छुरा प्रहार गरी हत्या गरिएको हो ।

खानमाथि घर नजिकै उनकै छिमेकी शेख साविरले छुरा प्रहार गरेको रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढा मगरले जानकारी दिए ।

शुक्रबार राति साविरसँग खानको सामान्य विवाद हुँदा सविरले उनको बायाँ छातीमा मुटु नजिक छुरा प्रहार गरेको एसपी मगरले बताए ।छुरा प्रहारबाट गम्भीर घाइते भएका खानलाई प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

छुरा प्रहारमा संलग्न साविरलगायत दुईजना फरार भएका छन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।