जनकपुरधाम, ६ जेठ । मधेशका सभामुख रामचन्द्र मण्डलले समग्र सामाजिक, आर्थिक तथा सांस्कृतिक पक्षको सर्वेक्षण गर्नुपर्नेमा जोड दिएका छन् । सभामुख मण्डलले मधेश सरकारले वर्तमान अवस्था बुझ्न र त्यसलाई सुधार गर्न तथ्याङक आवश्यक भएको बताएका हुन् ।

देशको समग्र अवस्थाप्रतिको जनधारणा, सुरक्षा, विवाद समाधान, सामाजिक सम्बन्ध, शासन, राजनीतिमा सहभागिता, आर्थिक दृष्टिकोण र सूचनामा पहुँचको विषयमा संंकलित तथ्याङकलाई विश्लेषण गरिएको पुस्तक ‘नेपाली जनमत सर्वेक्षण’ प्रतिवेदन प्रस्तुतिमा सभामुख मण्डलले तथ्याङकले दिशा र दशा बताउने भएकोले तथ्याङकको महत्व बुझ्न आवश्यक भएको बताए ।

उनले भने, ‘६२ प्रतिशत संघीयता पक्षधर र ३८ प्रतिशतलाई संघीयतामा हुने राम्रो कामको प्रतिफल देखाएर पक्षमा ल्याउन सक्नुपर्छ । अहिले कमजोरी जस्तो देखिएपनि भोली कामको आधारमा व्युटीको रुपमा अगाडी बढाउन आवश्यक छ ।’

‘सरकारले गरेको भ्रष्टाचार नियन्त्रण त्यही सरकारले गर्न सक्नुपर्दछ, अन्यथा मानिसमा व्यवस्थाप्रति असन्तुष्टि बढ्छ, ’मण्डलले भने, ‘आफ्नो परिवारले गरेको कामको गुण र दोषका आधारमा परिवारबाटै कारवाही गर्न जरुरी छ । दोस्रो र तेस्रो नम्बरमा त अन्य छँदैछ तर पहिले जून सरकारको गल्ति छ त्यही सरकारले गल्तिलाई सच्याउने देखि कारवाही गर्न सक्नुपर्छ । अन्यथा अन्य सरकारले पनि हस्तक्षेप गरेर दोषिलाई कारवाही गर्न सक्नुपर्छ ।’

काठमाडौं विश्वविद्यालय, स्कुल अफ आर्टसले गरेको कार्यक्रममा सभामुख मण्डलले संघीयताप्रतिको नाकारात्मक धारणालाई कम गर्न गरेको गल्तिलाई सच्याउने र राम्रो कामको सकारात्मक सन्देश जनतासम्म लैजान जरुरी भएको मण्डलको भनाइ थियो ।

काठमाण्डौं विश्वविद्यालय, स्कुल अफ आर्टसले ७ प्रदेशको ५८८ वडाहरुमा २८ वर्षमाथि उमेर समुहका ७ हजार ६० प्रतिनिधि उत्तरदाताहरुलाई नमूना छनोट गरी नेपालले लिइरहेको दिशा सही छ की गलत भन्ने प्रश्नमा हरेक पाटोलाई केलाउने प्रयास गरेको छ ।

कार्यक्रममा उपसभामुख वबिता कुमारी राउत ईशर, प्रदेशसभा सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।