जनकपुरधाम, ५ जेठ । मधेस प्रदेशमा वर्तमान जसपा नेतृत्वकै सरकारलाई निरन्तरता दिने सहमति भएको छ । योसँगै मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार अब तत्काल परिवर्तन नहुने भएको छ ।

शुक्रबार बालुवाटारमा सत्तारुढ दलहरुबिचको छलफलमा आलोपालो प्रणालीअनुसार तत्काल यादवलाई नै निरन्तरता दिने सहमति भएको हो ।

यसअघि वैशाख १० को उपचुनावअघि भएको सहमतिअनुसार सत्तारुढ गठबन्धनका दलहरुले जसपालाई मुख्यमन्त्री छाड्न दबाव दिइरहेका थिए । तर, जसपाले आफ्नो अडान कायम राख्दै मुख्यमन्त्री छाड्न नचाहेको र यादव नेतृत्वकै सरकारमा आउन अन्य दललाई पनि प्रस्ताव गरेको बुझिएको छ ।

गठबन्धन दलका शीर्ष नेताहरुबिच लगातार दुई दिन भएको छलफलमा तत्काल जसपा नेतृत्वको सरकारलाई निरन्तरता दिने सहमति भएको नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले बताए । उनले कुन दलले कति र कहिले नेतृत्व गर्ने विषयबारे गठबन्धनको बैठक बसेर टुंग्याउने निर्णय भएको जानकारी दिए ।

प्रदेश सरकारमा कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टी सहभागी हुन लागेका छन् ।

मन्त्रालय भागवण्डाबारे सहमति खोज्ने जिम्मा भने प्रदेशकै नेताहरुलाई दिइएको नेकपा माओवादी केन्द्र मधेस प्रदेशको संसदीय दलका नेता भरतप्रसाद साहले बताए । उनले आइतबार बिहान ११ बजे जनकपुरधाममा गठबन्धन दलका संसदीय दलका नेताहरुको बैठक बसेर मन्त्रालय टुंग्याइने जानकारी दिए ।

गठबन्धन फेरिएसँगै २२ चैतमा नेकपा एमालेले मधेस सरकार छाडेको थियो । तर कांग्रेस, लोसपा र एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएका छैनन् ।

मधेस सरकारमा अहिले एमालेले छाडेको चार मन्त्रालय खाली छ । जसपाले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय लिएको छ भने जनमत पार्टीले दुई र माओवादी केन्द्रले एउटा मन्त्रालय लिएको छ ।