काठमाडौं, ५ जेठ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालोलाई नतोड्दासम्म मुलुकको विकास र समृद्धिले सार्थकता नपाउने बताएका छन् ।

गृह मन्त्रालयमा शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वले उपप्रधानमन्त्री श्रेष्ठसँग गरेको भेटमा उनले समृद्धिको तगारो कमिसन र भ्रष्टाचार नै भएकाले यसलाई नियन्त्रण गरी मुलुकलाई विकास र समृद्धिको दिशामा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुनी दायरामा ल्याएरै छाड्ने दृढता व्यक्त गरे ।

उनले आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर विदेश पठाउँदै पैसा कमाउने धन्दा सामान्य ठगीको घटना मात्रै नभएको भन्दै यो सङ्गठित अपराध भएको बताए । उपप्रधानमन्त्री श्रेष्ठले देशको छविलाई कमजोर र अपमानित पार्ने, बेइज्जती गर्ने काम पनि जोडिएकाले यो राज्यविरुद्धकै अपराध किन होइन ? भन्ने प्रश्न पनि उठेको बताए ।

तथ्य र प्रमाणका आधारमा यस प्रकरणलाई निष्कर्षमा पु¥याउने गरी अनुसन्धान भइरहेको भन्दै उनले अनुसन्धान जहाँ र जोसँग पुग्छ सोहीअनुसार कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको बताए ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठसँग रास्वपाले संसद्मा सङ्कल्प प्रस्ताव दर्ता गराएको जानकारी गराएको थियो । प्रस्तावमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा उच्च तहका व्यक्तिको संलग्नता रहेकाले यो राज्यविरुद्धको सङ्गठित अपराध र मानव तस्करीको विषय भएकाले दोषीलाई कानुनी दायरामा ल्याउन कुनै कसुर बाँकी नराख्न आग्रह गरिएको छ ।

कुनै पनि प्रकारको अवाञ्छित प्रभाव र दबाबमा नपरी कानुनका आधारमा निष्पक्ष अनुसन्धान गरेर तथ्य र प्रमाणका आधारमा भुटानी शरणार्थी प्रकरणलाई निष्कर्षमा पु¥याउने विश्वास व्यक्त गरे ।

रास्वपाका सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरण राज्यविरुद्धको सङ्गठित अपराध भएकाले यसमा संलग्नलाई कानुनी दायरामा ल्याउन गृहमन्त्रीको ध्यानाकर्षण गराउने उद्देश्यले पार्टीका सांसदसहित आफूहरू गृहमन्त्रीलाई भेट्न आएको बताएका थिए ।