काठमाडौं, ५ जेठ । सरकारले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो घोषणा गरेको हो ।

यो विमानस्थल निर्माणको प्रक्रिया अझै अन्यौलमा रहेका बेला सरकारले यस्तो घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रादेशिक विमानस्थलको अध्ययन गरी निर्माण कार्य अगाडि बढाउने समेत बताए ।

हवाई सेवालाई सुरक्षित बनाउन सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिने उनले बताए ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलका टर्मिनल भवनको स्तरोन्नती गर्ने समेत उनले बताए । निर्माण सम्पन्न भएका विमानस्थललाई पूर्ण क्षमतामा उपयोगमा ल्याउने उनको भनाइ छ ।