दोस्रो महेन्द्र नारायण निधि स्मृति टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता जनकपुरधाममा हुँदै

जनकपुरधाम, ४ जेठ । जनकपुरधाममा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिताको आयोजना हुन लागेको छ ।
मधेस प्रदेश क्रिकेट संघको आयोजना र नेपाल लोकतान्त्रिक खेलकुद संघ तथा जिल्ला क्रिकेट संघ धनुषाको सहकार्यमा दोस्रो महेन्द्र नारायण निधि स्मृति टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
यही जेठ १५ गतेबाट सुरु हुने प्रतियोगितामा सातवटै प्रदेशबाट सातवटा टोलीको सहभागीता रहने मधेस प्रदेश क्रिकेट संघका अध्यक्ष हीरा भगतले जानकारी दिए ।
प्रतियोगिताको फाइनल खेल जेठ २७ गते हुनेछ । प्रतियोगिताका खेलहरु जनकपुरधाम–१४ रजौलस्थित निर्माणाधिन रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता टिमले ३ लाख रुपैयाँ र उपविजेताले २ लाख रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै बेस्ट ब्याट्सम्यानलाई १५ हजार, बेस्ट बलरलाई १५ हजार र म्यान अफ दि सिरिजलाई २५ हजार रुपैयाँ प्रदान गरिने नेपाल लोकतान्त्रिक खेलकुद संघ धनुषाका सभापति अखिल मढिले जानकारी दिए । उनले हरेक म्याचका म्यान अफ दि म्याचलाई ५ हजार रुपैयाँ दिइनेसमेत बताए ।
प्रतियोगिताको कूल बजेट ४० लाख रुपैयाँ रहेकोमा खर्च भने ६० लाख हुने अनुमान गरिएको छ । जसमध्ये २० लाख रुपैयाँ निजी स्तरबाट व्यवस्थापन गरिने उनले बताए ।
लिगकम नकआउटको आधारमा हुने प्रतियोगितामा राष्ट्रिय स्तरको खेलहरुमा अपनाइने सम्पूर्ण मापदण्ड अपनाइने बताइएको छ । प्रतियोगिताको तयारी तिव्र रुपमा भइरहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको उदघाटन नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले गर्ने बताइएको छ ।
यसअघि पहिलो महेन्द्र नारायण निधि स्मृति टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता सप्तरीको राजविराजमा आयोजना गरिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


