काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुंगो लाग्ने बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रतिनिधि सभा सदस्य दीपक कार्कीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एक महिनाभित्रै नागरिकतासम्बन्धी विधेयकको टुंगो लाग्ने बताएका हुन् ।

अघिल्लो प्रतिनिधि सभाकै पालामा पारित भएर राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणीकरण नभएर होल्ड भएर बसेको र खारेजसमेत नभएको अवस्था रहेको भन्दै उनले सोही विधेयकलाई राष्ट्रपतिमार्फत प्रमाणीकरण गराउने विषयमा पनि छलफल भइरहेको बताए ।

‘दुईवटै सम्भावना म देख्छु । त्यहाँ उपस्थित भएको सुझावको आधारको एउटा बाटो । अर्को बाटो फेरि यही सदनबाट नै, अहिलेको यो नयाँ सदनबाट त्यसको विषयमा एउटा या त संकल्प प्रश्तावमार्फत । या अरू कुनै प्रस्तावमार्फत् राष्ट्रपतिलाई त्यो विधेयकको बारेमा प्रमाणीकरण गर्न अनुरोध गर्ने बाटो एउटा हुनसक्छ । या अर्को क्याबिनेटबाट डिसिजन गरेर राष्ट्रपतिसँग अनुरोध गर्ने पनि एउटा बाटो हुनसक्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘तर अब त्यो विधेयकलाई खारेज गरेर फेरि अर्को विधेयक ल्याउने बारेमा पनि मतहरू छन् । फेरि सदनमा अर्को विधेयक ल्याएर त्यो जिरोमा गयो । त्यसकारण जिरोमा गइसकेको विधेयकलाई, मृत भइसकेको विधेयकलाई जीवित मान्न सकिँदैन भन्ने मत पनि सदनभित्र पनि छ ।