काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन माओवादी शिविरमा कुनै अनियमितता नभएको स्पष्ट पारेका छन् । यदि फेरि माओवादी शिविर छानबिनबाट दोषी ठहरिए आफू जेल जान तयार रहेको प्रधानमन्त्री दाहालले बताएका हुन् ।

उनले यो विषय राजनीतिक पूर्वाग्रहका आधारमा उठाउने गरिएको उल्लेख गर्दै २०४८ सालपछिका सबै भ्रष्टाचार छानबिन गर्न तयार रहेको बताए ।

‘क्यान्टोनमेन्टको कुरा कपोलकल्पित छ । फेरि पनि छानबिन गरेर दोषी ठहरिए म जेल जान तयार छु,’ प्रतिनिधिसभाको बिहीबारको बैठकमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भने । उनले लडाकुलाई दिएको पैसामा भ्रष्टाचार भयो भन्ने आरोप मात्र भएको पनि दाबी गरे ।

‘पूर्वमाओवादी लडाकुलाई वितरण गरिएकै पैसामा भ्रष्टाचार भयो भन्ने आरोप मात्र हो । क्यान्टोनमेन्टको भौतिक पूर्वाधारको जिम्मा कसले लिए त्यसको रेकर्ड छ,’ प्रधानमन्त्री दाहालले भने, ‘त्यतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थमन्त्री डा. रामशरण महतले रुजु गरेपछि यो विषय पटाक्षेप भएको हो । पटक–पटक यो विषय राजनीतिक आग्रहको आधारमा उठाइन्छ । त्यस्तो केही छ भने २०४८ सालदेखिको सबै भ्रष्टाचारका मुद्दामा छानबिन गर्न तयार छु । राजनीतिक तहमा संकल्प गरेर जाँदा छानबिन गर्न सकिन्छ ।’