नक्कली भुटानी शरणार्थी प्रकरण : हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ

काठमाडौं, ४ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । उनी बिहीबार सिंहदरबार परिसरबाटै पक्राउ परेका हुन् ।
मियाँलाई काठमाडौं प्रहरी परिसर लगिएको छ । नक्कली भुटानी शरणार्थी ठगी गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।
गृह मन्त्रालयअन्तर्गत नेपाल हज समितिका अध्यक्ष मियाँलाई तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले ७ माघ २०७७ मा नियुक्त गरेका थिए । थापा हटेपछि गृहमन्त्री बनेका खाणले मियाँको कार्यकाल २ वर्ष बढाएका थिए ।
शरणार्थी ठगी प्रकरणमा जोडिएपछि प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ ।
यस्तै, उक्त घटनाका आरोपी काठमाडौं टोखा बस्ने रामशरण केसी, मोरङ घर भएका गोविन्द चौधरीसहित उक्त प्रकरणका गिरोह मानिएका केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ पक्राउ परेका छन् ।
पक्राउ परेका डा. राईका छोरा नीरज र गत शुक्रबार पक्राउ पुर्जी जारी भएका तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक फरार छन् ।
योसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १५ पुगेको छ । पक्राउ पुर्जी जारी भएका दुई आरोपी भने फरार छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


