जनकपुरधाम, ४ जेठ । ‘जनकपुरधाम मेयर कपका विजेताले अझै पाएनन् पुरस्कार रकम, मेयर अनभिज्ञ’ भन्ने शीर्षकमा गत बैशाख २९ गते टुडेआवाजमा समाचार प्रकाशन भयो । समाचारमा जनकपुरधाम उपमहानगरपालिकाको आयोजना र जिल्ला क्रिकेट संघ धनुषाको संयोजनमा गत वैशाख १ गते सम्पन्न प्रदेश स्तरीय ‘जनकपुरधाम मेयर कप–२०७९’ क्रिकेट प्रतियोगिताका विजेतालाई धनुषा जिल्ला क्रिकेट संघले पुरस्कार रकम उपलब्ध गराउन नसकेको गुनासाहरुलाई समेटिएको थियो । प्रतियोगिता सम्पन्न भएको एक महिना बितेपनि पुरस्कार रकम वितरण गर्न आयोजकले ढिलाई गरेको भन्दै यहाँका केही खेलाडीले गुनासो गरेका थिए । तर, ति गुनासाहरुलाई सुझाबको रुपमा नलिई समाचार प्रकाशन भएपश्चात् संघका केही पदाधिकारीहरुले उल्टै खेलाडीलाई नै धम्काउने गरेको दुःखेसोहरु सुनिएको छ ।

समाचार प्रकाशन भएसँगै संघका केही पदाधिकारीले सामाजिक सञ्जालमार्फत र केहीले फोनमार्फत संघको गरिमा र मर्यादाबिरुद्ध अभिव्यक्ति दिने खेलाडीमाथि संघले कारवाही गर्ने निश्चित छ भन्दै धम्की दिइरहेका छन् । जबकी संघका केही पदाधिकारीले भने आफैं अमर्यादित काम गरिरहेको देखिन्छ । उनीहरुले संघको मर्यादालाई कायम राख्नुपर्नेमा स्वयं अमर्यादित बनेको आरोप लगाइएको छ ।

धनुषा जिल्ला क्रिकेट संघका पदाधिकारीहरुले संघलाई आफूअनुकूल चलाउन खोजिरहेको आरोप लगाइएको हो । क्रिकेट संघका पदाधिकारीहरुले संघलाई मनोमानी तरिकाले सञ्चालन गरिरहेको र खेलकुदमा वर्षौं लगानी गरेका खेलाडीहरुलाई बायकट गरेको आरोप लगाइएको छ । यहाँ उपलब्ध खेलाडीहरुलाई संघको सदस्यता नदिई उपलब्ध नै नरहेकाहरुको नाम पनि संघमा राखेर आफूअनुकूलका गतिविधिहरु गरिरहेको नाम उल्लेख नगर्ने सर्तमा एक खेलाडीले बताए ।

उनले भने, ‘खेलकुदमा हाम्रो पनि धेरै लगानी छ । हामी पनि खेलकुदप्रति नै दिनरात रुची राख्ने खेलाडी छौं । तर, हामीले धनुषा जिल्ला क्रिकेट संघको सदस्यता माग्दा कुनै चासो दिंइदैन । झन अध्यक्षलगायतका पदाधिकारीहरुले आफ्नो गोजीका मान्छेहरुको फर्जी हस्ताक्षर गरेर संघको सदस्य बनाएका छन् । जो यहाँ छैनन्, उनीहरुको नाम पनि संघमा देखिरहेको छु । तर, हाम्रो भने कुनै मूल्यांकन नै गरिँदैन ।’

जनकपुरधाम उपमहानगरपालिकाको आयोजना र जिल्ला क्रिकेट संघ धनुषाको संयोजनमा गत वैशाख १ गते सम्पन्न प्रदेश स्तरीय ‘जनकपुरधाम मेयर कप–२०७९’ क्रिकेट प्रतियोगिताका विजेताले पुरस्कार रकम अझै पाउन नसकेको समाचार सार्वजनिक हुँदा पनि संघले विजेता टिमलाई पुरस्कार रकम उपलब्ध गराउने चासो नदेखाई झन यहाँका केही खेलाडीहरुलाई संघको आन्तरिक कुरा बाहिर ल्याएको भन्दै अनुशासनको कारवाही गर्ने चेतावनी दिएको छ । जबकी संघका केही पदाधिकारीले आफैं अर्मयादित काम गरेको देखिन्छ ।

‘फर्जी हस्ताक्षर गरेर गोजीका मान्छेलाई संघको सदस्य बनाएर अमर्यादित काम गरेका ती पदाधिकारीले खेलाडीमाथि नै कारवाही गर्ने चेतावनी दिनु आफैंमा अशोभनीय रहेको छ,’ उनले भने,‘यस्तो अवस्थामा उनीहरुमाथि कारवाही कसले गर्ने ?’

धनुषा जिल्ला क्रिकेट संघको १५ सदस्यीय वर्तमान कार्यसमितिको अध्यक्ष शोभाकान्त पाण्डे, उपाध्यक्ष आकाश पाण्डे, सचिव आशिष झा, कोषाध्यक्ष सचिन सिंह र सदस्यहरु उत्तम कुमार कर्माचार्य, नवीन सिंह, लाला गुणवन्त बहादुर सिंह, शिव नारायण झा, हिरा भगत, धिरज पौडेल, कुमार प्रसुन्न, पुनम गुप्ता, सरोज कुमार मिश्र, धरबेन्द्र ठाकुर र चन्दन झा छन् । जबकी यसबाहेकका खेलाडीहरु अन्सारुल राईन, रुपेश सिंह, उमेश साह, जितेन्द्र मल्लिक, प्रशान्त अरवीन्द, गणेश मण्डल, राजिव मान सिंह, भवेश मिश्र, अशोक दत्तलगायतकाहरुलाई संघको सदस्यता प्रदान गर्न पदाधिकारीले कुनै चासो देखाएका छैनन् ।

संघका पदाधिकारीमाथि यहाँका सिनियर खेलाडीहरुलाई सदस्यताबाट बायकट गरेको, जिल्ला अधिवेशन पनि लुकाएर गर्ने गरेको, उपलब्ध नभएका व्यक्तिको पनि फर्जी हस्ताक्षर गरेर सदस्य बनाएको, गोजीका मान्छेलाई मात्र सदस्यता दिएकोलगायतका आरोपहरु लगाइएको छ ।

यता, यस सम्बन्धमा धनुषा जिल्ला क्रिकेट संघका अध्यक्ष शोभाकान्त पाण्डेले नेपाल क्रिकेट संघको विधान अनुसार नै आफूहरुले केही गर्न सक्ने बताएका छन् ।

उनले नेपाल क्रिकेट संघको विधानले नै आफूहरुलाई केही कुराहरुबाट बञ्चित गरेको सुनाए । क्यानले जिल्ला कमिटीमा पहिलेका पदाधिकारीलाई निरन्तर दिन भनेको र नयाँ सदस्य थप्ने हकमा भने केही सीमित घेरावन्दीमा पारेको बताए ।

उनले भने, ‘संघमा आबद्ध हुन छुटेका सिनियर खेलाडीहरु विकास कर्ण, कृपाशंकर पाण्डे, अभिशेष झालगायतकाहरुलाई हामी आफैं पनि ल्याउन खोजिरहेका छौं । तर, क्यानको विधानले हामीलाई कदम बढाउन रोकिरहेको छ । हामी आफैं पनि संघलाई मजबुत बनाउन हरसम्भव प्रयास गरिरहेका छौं । तर, केही कानूनी अडचनका कारण रोकिएका छौं ।’