साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, पहिलो खेलमा नेपालले कुवेतको सामना गर्ने

काठमाडौं, ३ जेठ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले १४औँ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।
साफ च्याम्पियनसिप बैंग्लोरमा असार ६ (जुन २१) देखि असार १८ (जुलाई ३)सम्म हुनेछ । प्रतियोगिताको यस संस्करणमा नेपालसँगै आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् ।तालिकाअनुसार नेपाल समूह ‘ए’ मा रहेको छ ।
नेपाल रहेको समूहमा भारत, कुवेत र पाकिस्तान रहेका छन् । च्याम्पियनसिपको सुरुवात नेपाल र कुवेतबीचको खेलबाट हुने भएको छ । च्याम्पियनसिपको पहिलो खेल नेपाल र कुवेतबीच असार ६ (जुन २१) नेपाली समय अनुसार दिउँसो ४ बजे हुनेछ ।
नेपालले दोस्रो खेल असार ९ (जुन २४)मा आयोजक भारतसँग खेल्नेछ । समूह चरणको तेस्रो तथा अन्तिम खेलमा उनीहरूले असार १२ (जुन २७)मा पाकिस्तानको सामना गर्नेछन् ।
समूह ‘बि’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् । फिफाको निलम्बनका कारण श्रीलंकाले यस संस्करणमा प्रतिस्पर्धा गर्नेछैन । अर्कोतर्फ कुवेत र लेबनानलाई पनि आमन्त्रित टोली दिइनेछ ।
यसअघि साफको १४औं संस्करण बंगलादेशमा आयोजना हुने भनिए पनि बंगलादेशले प्रतियोगिता आयोजना गर्न नसकेपछि भारतमा आयोजना हुन लागेको हो ।
माल्दिभ्समा भएको १३औँ साफ च्याम्पियनसिपमा नेपाल दोस्रो भएको थियो ।उपाधि खेलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


