जनकपुरधाम, ३ जेठ । सातौं अन्तर्राष्ट्रिय सडक सुरक्षा सप्ताहको तेस्रो दिन बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जथाभावी बाटो काट्ने, हेल्मेटको बेल्ट नलगाउने, ट्राफिक नियमको पालना नगर्ने लगायतका विषयहरुमा मुख्य मुख्य चोकहरुमा सचेतना कार्यक्रमको आयोजना गरेको छ ।

ट्राफिक प्रहरी कार्यालय धनुषा तथा मातहतका कार्यालय/पोष्टहरुले राजमार्ग, शहरी तथा भित्रि सडक खण्डहरुको १७ स्थानको चोकचोकमा स्वयंसेवक/विद्यार्थीहरुलाई परिचालन गरी सडक प्रयोगकर्ताहरुलाई बाटो काट्न सिकाएको हो ।

साथै सिट क्षमता भन्दा बढी यात्रु राखे, नराखेको अनुमगन र आरक्षण सिट कार्यान्वयन भए, नभएको अनुगमन, सवारी चालक सहचालकहरुलाई सिट क्षमता भन्द बढी यात्रु नराख्ने र आरक्षण सिट सम्बन्धी प्रशिक्षणसमेत दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक शेखर साहले जानकारी दिए ।

जनकपुरधाम नगर एरिया भित्र अटो ई–रिक्सा चालकहरुलाई ट्राफिक नियम तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धी प्रशिक्षण दिनुको साथै पर्चा पम्पलेट समेत विवरण गरिएको उनले बताए ।

सोमबारदेखि सुरु भएको सडक सुरक्षा सप्ताहको चौथो दिन बिहीबार सरोकारवालाहरुसँग ट्राफिक सचेतनाबारे अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।