भ्रष्टाचारविरुद्ध जनकपुरधाममा नागरिक समाजको प्रदर्शन

जनकपुरधाम, ३ जेठ । जनकपुरधाममा नागरिक समाजले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् ।
‘दलीय भागवण्डा र भ्रष्टाचारविरुद्ध एक होऔं’ भन्ने नाराका साथ नागरिक समाजका अगुवा रामरिझन यादवको नेतृत्वमा प्रदर्शन गरिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरण, वाइडबडी भ्रष्टाचार काण्ड, हुलाकी परियोजना घोटाला काण्ड, मधेश प्रदेश सरकारको साइकल वितरणमा भ्रष्टाचार काण्ड, स्वच्छता अभियानमा भएको भ्रष्टाचार काण्डलगायतकाविरुद्ध प्रदर्शन गरिएको हो ।
यादवले पैसाका लागि आफ्नै देशका नागरिकलाई शरणार्थी बनाउने जस्ता निचस्तरको काण्ड गृहमन्त्री जस्तो पदमा बसेका व्यक्तिबाट हुनु अक्षम्य अपराध भएको बताए । नक्कली शरणार्थी लगायतको अन्य सबै काण्डको निष्पक्ष छानविन गरी दोषीलाई कडा कारबाहीको दायरामा ल्याउन उनले माग गरे ।
ठूलो भ्रष्टाचार काण्ड श्रृंखलावद्ध रुपमा सार्वजनिक भइरहँदा जनकपुरधाम लगायत मधेसका नागरिक समाज, वुद्धिजिवी सडकमा नआउनु दुःखद रहेको यादवको भनाइ छ । भ्रष्टाचारविरुद्ध सबै सचेत नागरिकले खबरदारी गर्नुपर्ने उनले बताए ।

प्रदर्शनमा नागरिक समाजका बालकेशर ठाकुर, विपती मण्डल, दिनेश पूर्वे, धिरेन्द्र साहलगायतकाहरुले हरेक भ्रष्टाचार काण्डका निष्पक्ष छानविन गरी दोषी जो कोही भएपनि उन्मुक्ति नदिन सरकारसँग माग गरे ।
रामरिझनको अगुवाइमा भ्रष्टाचारविरुद्ध यसअघि सप्तरीको राजविराज र सिरहाको सदरमुकाम सिरहामा पनि प्रर्दशन गरिएको थियो ।
बिहीबार महोत्तरीको सदरमुकाम जलेश्वर र शुक्रबार सर्लाहीको मलंगवामा प्रदर्शन गर्ने कार्यक्रम रहेको उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


