काठमाडौं, ३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ‘प्राइमरी निर्वाचन प्रणाली’ मा जाने भएको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले सो प्रणालीको अभ्यास गर्दै आएको थियो ।

राप्रपाले प्रादेशिक र संघीय निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ५० प्रतिशत उम्मेदवार ‘प्राइमरी निर्वाचन प्रणाली’बाट चयन गरिने निर्णय गरेको हो ।

काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकपछि बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले यसबारे जानकारी गराएका हुन् ।

बैठकले सरकारी कर्मचारीको संगठन नबनाउने, विद्यार्थी संगठनलाई गैरराजनीतिक बनाउने लगायतका १७ बुँदे निर्णय गरेको छ ।

बैठकको निर्णय सार्वजनिक गर्न जारी विज्ञप्तिमा अध्यक्षबाट प्रस्तुत कार्यपत्र तथा अन्य प्रतिवेदनहरू परिमार्जनसहित पारित भएको उल्लेख गरिएको छ ।