काठमाडौं, ३ जेठ । बुधबार बिहान चट्याङ पर्दा जिल्ला प्रशासन कार्यालय रामेछापको कम्प्युटर र इन्टरनेटका उपकरणमा क्षति पुगेको छ ।

मन्थलीमा बुधबार बिहान हावाहुरी र चट्याङसहित पानी परेको थियो । हावाहुरी र चट्याङका कारण जिल्ला प्रशासन कार्यालय रामेछापले दिने सेवा बिहानैदेखि प्रभावित भएको छ ।

कार्यालयले इन्टरनेट, टेलिफोन, राउटर लगायतका उपकरण मर्मत गरेर सामान्य सेवा बुधबार अपराह्नदेखि सञ्चालनमा ल्याएको छ । राहदानी सेवा भने अझै अवरुद्ध छ ।

सेवा अवरूद्ध भएपछि राहदानी सिफारिस सेवा अर्को व्यवस्था नभएसम्मका लागि बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।

चट्याङका कारण राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्ने क्यामेरालगायत उपकरण र सिसी क्यामेरासमेतमा क्षति पुगेको उनले बताए ।