महोत्तरी, ३ जेठ । महोत्तरी प्रहरीले ८२ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बस्ने २६ वर्षीय गणेश सार्की र सोही ठाउँका २७ वर्षीय पाण्डव थापा रहेका छन् ।

जिल्लाको गौशाला नगरपालिकाको जंगल क्षेत्रबाट ट्याक्टरमा बोकेर ल्याउँदै गरेको अवस्थामा दुबैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

ना ७ त २०० नम्बरको ट्याक्टरमा ८२ किलो लागुऔषध गाँजा बोकेर गौशाला नगरपालिका–१२ जंगलमा रेल्वे पुलनजिकै रहेको बाँके खोलाको बाटो हुँदै कान्तिबजार आउँदै गरेको अवस्थामा गस्तीमा गएको प्रहरी टोलीलाई शंका लागि चेकजाँच गर्दा सो परिमाणको गाँजासहित उनीहरुलाई पक्राउ गरेको डीएसपी गिरीले बताए ।

लागुऔषधसहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय गौशालामा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।