काठमाडौं, ३ जेठ । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दसम्मको आन्दोलन घोषणा गरेको छ ।

रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेको भोलिपल्ट बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नागरिक उन्मुक्तिले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपालबन्दसम्मको आन्दोलन घोषणा गर्ने चेतावनी दिएको हो ।

लाल आयोगको प्रतिवेदन सरकारले सार्वजनिक नगरेन अर्को विकल्प नरहेकोले आफूहरु आन्दोलन गर्न विवश हुने नागरिक उन्मुक्तिले विज्ञप्तीमार्फत भनेको छ ।

जेठ ३, ४ र ५ गते देशब्यापी राँके जुलुस प्रदर्शनी कोणसभा र ६ गतेदेखि १० गतेसम्म नेपालबन्द घोषणा गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले बताए ।

२०७२ सालमा संविधान जारी गर्दा त्यसको विरोधमा मधेश तथा थारुहटमा भएको आन्दोलनका क्रममा सरकारी पक्षको दमनबारे अध्ययन गर्न सरकारले लालको नेतृत्वमा आयोग गठन गरेको थियो । तर उक्त आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन ।

नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटना राजनीतिक भएकाले राजनीतिक हिसाबले नै समाधान गर्नुपर्ने बताएको छ ।