काठमाडौं, ३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका जो कोहीलाई पनि कारबाही गर्नबाट पछि हट्न नहुने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस पार्टीबाट नाम जोडिएका नेता बालकृष्ण खाँणलाई पार्टीले तत्काल निलम्बन गर्नुपर्ने गरे । उनले अनुसन्धानमा पार्टी जोडिन नहुने र अनुसन्धानबाट दोषी ठहरिए सबैलाई कारबाही हुनुपर्ने बताए ।

महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रविरुद्धको अपराध भएको उल्लेख गरे । उनले कुनै पनि पदमा बसेको व्यक्ति अभियोग लागिसकेपछि निर्दोष नगुन्जेसम्म स्वतः निलम्बनमा पर्ने बताए ।

उनले पार्टीको बैठकमा यसबारेमा छलफल भए पनि केही नेताहरूले पार्टीको परम्परा नरहेको भन्दै पन्छिन खोजेकाले परम्परा तोडेर भए पनि निलम्बन गर्न आवश्यक रहेको उल्लेख गरे ।

गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्न नहुने बताए । उनले पार्टीका नेताहरू भ्रष्टाचारी भए पनि पार्टी नै भ्रष्टाचारी हो भन्न नमिल्ने तर्क गरे ।

उनले कांग्रेसलाई अब नेताबाट नागरिकमा फर्काउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।