काठमाडौं, ३ जेठ । सरकारले लामो दूरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

यातायात व्यवस्था विभागले घटेको मूल्य बुधबारदेखि लागू भएको जनाएको छ । विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।

अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ । सबैभन्दा लामो रुट काठमाडौं–अत्तरीया–मार्तडी (बाजुरा) (९४४.६ किलोमिटर) को २ हजार ९५९ रुपैयाँ भाडादर कायम भएको छ ।

यस्तै, काठमाडौं–अत्तरीया–चैनपुर(९४४ किलोमिटर)को २ हजार ९४३ रुपैयाँ, काठमाडौं–धनगढी–साँफेबगर (८९९ किलोमिटर)को २ हजार ६९३, काठमाडौं–अत्तरीया–सिलगढीको २ हजार ४०८, काठमाडौं–महेन्द्रनगरको १ हजार ९१५, काठमाडौं–सुर्खेतको १ हजार ७४०, काठमाडौं–धनकुटाको १ हजार ७२७ र काठमाडौं–विराटनगरको भाडादर १ हजार ४९८ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी महेन्द्रनगर–काँकडभिट्टा (९२२ किलोमिटर) को २ हजार ४७५, सुर्खेत–धरानको २ हजार ४४२ र काठमाडौं–जनकपुरधामको ९०३ रुपैयाँ भाडा कायम गरिएको छ ।