काठमाडौं, ३ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान पूरा भएको छ ।

मंगलबार राति १० बजे बयान पूरा भएको जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकृतले बताए ।

जेठ १ गते सरकारी वकिलको रोहबरमा प्रहरीले उनलाई बयान गराएको थियो । तर, ५ वटा प्रश्नको उत्तर दिएपछि खाँणले बयान गर्न अस्वीकार गरेपछि भोलिपल्ट पुनः बयान लिइयो ।

शरणार्थीको नाममा ठगेको घटनामा खाँणले इन्कारी बयान दिएका छन् । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार बयानमा खाँणले आफ्नो कसुर अस्वीकार गरेका छन् ।

पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको प्रतिवेदन फेरवदल गरेर तत्कालीन गृहमन्त्री खाँण, मन्त्रालयका सचिव टेकनारायण पाण्डे र खाँणका स्वकीय सचिव नरेन्द्र केसीसँगको मिलेमतोमा गिरोहले ठगीधन्दा चलाएको प्रहरीको दाबी छ ।

ठगीमा संलग्न मध्येका आरोपी पूर्वसभासद् आङटावा शेर्पाको बयान बाँकी छ । नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका शेर्पाको बयान बुधवार गराउने प्रहरीको तयारी छ ।

यस प्रकरणमा अहिलेसम्म १४ जना पक्राउ परिसकेका छन् ।