कांग्रेसका युवा नेताहरुले गरे कांग्रेस रुपान्तरण अभियानको घोषणा

काठमाडौं, २ जेठ । नेपाली कांग्रेसका युवा नेताहरुले कांग्रेस रुपान्तरण अभियानको घोषणा गरेका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, युवा नेताहरु गुरु घिमिरे, रञ्जित कर्ण र भुपेन्द्रजंग शाहीलगायत नेताले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाली कांग्रेस रुपान्तरण अभियानको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य मधु आचार्यले नेपाली कांग्रेस पार्टी जमुवा पोखरीझैँ भएको बताए । नेपाली कांग्रेसको चाल, चरित्र र चेहरालाई परिवर्तन नगरी कांग्रेस रुपान्तरणको सम्भावना नभएको भन्दै उनले आफूहरुले पार्टीको समयसापेक्ष रुपान्तरण गर्ने बताए ।
हाल कांग्रेसभित्र गैरकांग्रेसी चरित्रले वास गरेको र नैतिक शक्तिको क्षय भएको भन्दै उनले आफूहरुले राजनीतिमा नैतिक शक्तिलाई जोड्ने बताए ।
कांग्रेसको कमी, कमजोरीबाट फाइदा उठाएर देशको राजनीतिमा उग्रवामपन्थी र दक्षिणपन्थी शक्तिहरुको उदय भएको उनले बताए । कांग्रेस रुपान्तरणको अभियानलाई अगािड बढाउनुपर्ने टड्कारो आवश्यकता भएकाले अभियानको घोषणा गरिएको उनको भनाइ छ ।
अभियानले जेठ ११ गते जनकपुरधाम, जेठ १६ गते काठमाडौं, जेठ २० गते पोखरा, जेठ २२ गते दाङ, जेठ २४ गते सुर्खेत, जेठ २६ गते धनगढी, जेठ २९ गते इटहरी र जेठ ३१ गते पुनः काठमाडौंमा बृहत भेला तथा अन्तरक्रिया कार्यक्रम राखेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


