रेशम चौधरीको जन्मकैदको सजाय सर्वोच्चबाट पनि सदर

काठमाडौं, २ जेठ । सर्वोच्च अदालतले रेशम चौधरीको जन्मकैदको सजायलाई सदर गरेको छ ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले यसअघि चौधरीलाई उच्च अदालतले गरेको जन्मकैदको फैसला सदर गरेको हो ।
अदालतले टीकापुर घटनामा मुछिएका सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सफाइ दिएको छ । यस्तै लक्ष्मण थारुको हकमा ५ वर्षको कैद सजाय घटाएर ३ वर्ष कायम गरिएको छ ।
कैलालीको टीकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी चौधरी हाल डिल्लीबजार कारागारमा छन् ।
चौधरीले जेलबाटै उच्च अदालत दिपायलको फैसलालाई बदर गरी पाउनका लागि दिएको पुनरावेदनको रिटमाथि सर्वोच्चमा बहस भएको थियो ।
प्रतिवादी चौधरी लगायत १४ जनाको तर्फबाट सफाइ पाउनुपर्ने भन्दै बहस भएको थियो । प्रतिवादीतर्फका अधिवक्ताहरुले घटना राजनीतिक भएको कारण राजनीतिक तबरबाटै हल गर्नुपर्ने र घटनामा संलग्न नभएका व्यक्तिहरुलाई मुछिएको भन्दै उनीहरुलाई सफाइ दिनुपर्ने माग गरेका थिए ।
जवाफी बहसमा सरकारी वकिलका तर्फबाट घटनाका योजनाकार रेशम चौधरी र लक्ष्मण थारु रहेको जिकिर गरिएको थियो । यस्तै अन्य व्यक्तिहरुको संलग्नतामा घटना गराइएको भन्दै उनीहरुलाई हदैसम्मको सजाय हुनुपर्ने र कैलाली जिल्ला अदालत तथा उच्च अदालत दिपायलको फैसला सही भएको बहस गरिएको थियो ।
टिकापुरमा भएको थरुहट आन्दोलनको क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


