काठमाडौं, २ जेठ । पछिल्लो एक महिनामा देशका विभिन्न स्थानमा चट्याङका थुप्रै घटना घटेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार गएको एक महिनाको अवधिमा चट्याङ लागेर ५ जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार गत १ वैशाखदेखि १ जेठसम्ममा चट्याङका ४४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार सोमबार राति चट्याङ लागेर दैलेखमा एकै घरका चारजना घाइते भएका छन् ।

डुङेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विकलाई सुतिरहेकै बेला चट्याङ लागेको हो । घाइतेहरूको उपचार भइरहेको छ ।

देशका पहाडी जिल्लामा हुरीबतास र मेघगर्जनसहित चट्याङ पर्नेक्रम जारी रहेकाले सावधानी अपनाउन मौसमविद् गोविन्द झाले आग्रह गरे । प्रि–मनसुनमा चट्याङ पर्ने धेरै सम्भावना रहेको उनको भनाइ छ ।

चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर घाइते हुने तथा ज्यान जाने खतरा हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

चट्याङ पर्ने समयमा खेतबारीको काममा नजान र गड्याङगुडुङको आवाज सुनेपछि घरभित्र वा सुरक्षित ठाउँमा बस्न उनको सुझाव छ । अझै तीन–चार महिना चट्याङ पर्ने सम्भावना उच्च हुने भएकाले सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।