काठमाडौं, २ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रमैत्री बन्नुपर्ने बताएका छन् । मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा बोल्दै वाग्लले यस्तो बताएका हुन् ।

सरकारले निजी क्षेत्रमैत्री नीति लिए मात्रै देशको आर्थिक समृद्धि हुने उनको दाबी छ । निजी क्षेत्र संग्लन नहुने क्षेत्रमा राज्यले लगानी गर्ने सरल सिद्धान्तबाट सरकार जानुपर्ने उनले सुझाब दिए ।

निजी क्षेत्र पखेटा फिँजाएर उड्नको लागि आवश्यक नीतिगत बाटोमा पहिल्याउन आवश्यक रहेको बताउँदै वाग्लेले सरकारले निजी क्षेत्रमैत्री वातावरणका सम्भावनाका बारेमा बहस आवश्यक रहेको पनि बताए ।

निजी क्षेत्रले सिर्जना गरेको रोजगारी,सरकारलाई तिरेको करबाट राज्यको ढुकुटी समृद्ध भए मात्रै कल्याणकारी राज्य धान्ने उनको भनाइ छ ।

अब मुलुकका युवाहरुलाई उद्यमशीलमार्फत देश निर्माणमा लगाउनुपर्ने बताउँदै उनले डेमोग्राफिक प्रोजेक्सनअनुसार सन् २०२८ एजिङ सोसाइटीमा जाने भन्दै अबको पाँच वर्ष धैर्य गर्ने कसैसँग समय नहुने बताए । अबको १५ वर्षको मुलुकको अर्थतन्त्रको स्वरुपको कस्तो बनाउने भन्ने यकिन हुनुपर्ने उनको भनाइ छ ।

विदेशी लगानी भित्रने वातावरण बनाउन आवश्यक रहेको बताउँदै डा. वाग्लेले नेपालले केही समयअघि आन्तरिक कलहको कारण विश्वका ठूला कम्पनीहरुको लगानी नेपालका आकर्षण गर्न नसकेको बताए ।