काठमाडौं, २ जेठ । अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाँणको केसलाई एउटैमा जोड्न नमिल्ने बताएका छन् ।

मंगलबार सञ्चारकर्मीसँग भेटघाट गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री महतले खाँणले आफू निर्दोष भएको प्रमाणित गर्ने भनेकाले उनको सन्दर्भमा पार्टीले कुनै निर्णय नगरेको पनि बताए ।

अनुसन्धान चलिरहेको उल्लेख गर्दै महतले अनुसन्धानले निकालेको निष्कर्षका आधारमा पार्टीले आफ्नो धारणा बनाउने बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरण स्वतन्त्र र निष्पक्षरूपमा अनुसन्धान गर्न पार्टीले सहयोग गर्ने पनि बताए ।उनले निर्दोष दोषी हुने र दोषी निर्दोष हुने अवस्था आउनु नहुने पनि बताए ।

उनले कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवाको सम्बन्धमा नक्कली अडियो फैलाइएको भन्दै त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए । आरजु आफैंले सो अडियोको अनुसन्धान गर्न साइबर ब्यूरोमा निवेदन दिइसकेको अवस्थामा उनलाई मिडियामा ट्रायल गरेर दोषी नबनाउन महतले आग्रहसमेत गरे ।

उनले पार्टी सभापति शेरबहादुर देउवाले निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि सघाइरहेका पनि बताए । घटनामा संलग्न दोषी प्रमाणित भएमा कानुनी प्रक्रियाअनुसार अगाडि बढ्ने महतो भनाइ छ ।