लेखा समितिको हरेक काम सार्वजनिक गर्न सचिवलाई निर्देशन

काठमाडौं, २ जेठ । सार्वजनिक लेखा समितिका सभापति (ज्येष्ठ सदस्य) अर्जुनरसिंह केसीले समितिले गर्ने हरेक काम सार्वजनिक गर्न समिति सचिवलाई निर्देशन दिएका छन् ।
मंगलबार प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको पहिलो बैठकमा बोल्दै सभापति केसीले देशको अर्थतन्त्रमा देखिएका अनियमितता र भ्रष्टाचारलाई निर्मूल गर्न कसिएर बसेको समितिले गरेका काम आम जनताले थाहा पाउन आवश्यक रहेको भन्दै अब समितिले गर्ने हरेक काम सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।
उनले सार्वजनिक लेखा समितिले गर्ने हरेक कार्यहरू सार्वजनिक गर्न आवश्यक रहेको बताए । उनले सार्वजनिक लेखा समितिका सभापति वा सदस्य पार्टी भन्दामाथि उठेर काम गर्नुपर्ने बताए ।
उनले निष्पक्ष, यथार्थ र भ्रष्टाचारविरुद्धको अभियन्ताको रूपमा लेखा समितिलाई स्थापित गर्नु अहिलेको आवश्यकता भएको बताए । उनले पछिल्लो समय नीतिगत निर्णयको नाममा सबै राजनीतिक दलहरूबीच आम सहमति गर्ने अवस्था देखिएको भन्दै अब त्यस्तो भए स्वीकार गर्न नहुने बताए ।
सभापति केसीले एकपछि अर्को गर्दै भ्रष्टाचारका काण्ड बाहिर आएको भन्दै सरकारले निष्पक्ष छानबिन गर्न सक्नुपर्ने बताए । उनले सरकारको बेरुजुको ७५ प्रतिशत भ्रष्टाचार भएको पनि बताए ।
उनले अहिले १ खर्ब १५ अर्ब ५ करोड बेरुजु रहेको भन्दै मुलुकको अर्थतन्त्र कहाली लाग्दो अवस्थामा रहेको पनि बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


