भ्रष्टाचार र कुशासनलाई अन्त्य गर्न सरकार निर्भिकतापूर्वक अघि बढ्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, २ जेठ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धि यात्राको मुख्य बाधकका रुपमा रहेको भ्रष्टाचार र कुशासनलाई अन्त्य गर्न सरकार दृढता र निर्भिकतापूर्वक अघि बढेको बताएका छन् ।
राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणका सन्दर्भमा भइरहेको अनुसन्धानबारे समितिका सदस्यले राखेको जिज्ञासमा उनले सो घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकार दृढ रहेको उल्लेख गरेका हुन् ।
श्रेष्ठले भने, ’अनुसन्धानमा कुनै पक्षपात हुने छैन, सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैन । अनुसन्धानले जहाँसम्म आवश्यकता ठान्छ, त्यहाँसम्म दृढतापूर्वक पुग्छ । सरकार दोषीलाई कारबाही गर्न दृढ छ ।’
नक्कली भुटानी शरणार्थी बनाउने घटनाको अनुसन्धानका लागि प्रहरी अहोरात्र खटिरहेको जानकारी दिँदै उनले अनुसन्धानका क्रममा प्रहरीलाई सुरुआतदेखि नै कुनै राजनीतिक दबाब वा अवाञ्छनीय प्रभावबाट मुक्त रहन कडा निर्देशन दिएको बताए ।
अनुसन्धानका क्रममा प्रमाण र तथ्य देखापरेका आधारमा विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिने र अनुसन्धानको प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाउँदै उनले अनुसन्धानले पुष्टि गरेका आधारमा कानुनको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरे ।
भ्रष्टाचार र कमिसनको जालोले देशलाई बर्बादी गरेकाले त्यसको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सुशासन कायम गरी समृद्धि हासिल गर्ने वर्तमान सरकारको पहिलो कार्यभार रहेको स्पष्ट पारे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


