नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने सरकारको तयारी

काठमाडौं, २ जेठ । सरकारले नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान सभामुख देवराज घिमिरेसँगको भेटमा सो जानकारी दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभामुख घिमिरे प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । सो भेटमा संसद् बैठक, सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको बताइएको छ ।
भेटमा प्रधानमन्त्री प्रचण्डले सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराए । संसद् सञ्चालनका लागि सभामुख घिमिरेले सबै दलसँग समन्वय र सहकार्यको प्रयास गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले सराहना पनि गरेका थिए ।
मंगलबारबाट संसदीय समितिहरुको बैठक सुरु भएपछि संसद्ले लय समातेको भन्दै उनले संसदमा विचाराधिन विधेयकहरु टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको पनि बताएका थिए ।
सभामुख घिमिरेले संसद सचिवालयले पनि नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको जानकारी दिएका थिए ।
सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि उनले आभारी व्यक्त गरेका थिए ।
उनले सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको गुनासो सांसदहरुले गरेको जानकारी गराउँदै यो कुरालाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


