जनकपुरधाम, १ जेठ । नेकपा एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सोमबारबाट लागू हुनेगरी सरकारलाई दिएको समर्थन फिर्ता लिइएको एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिएका हुन् ।

मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिएर सरकारमा सहभागी भएको एमालेले संसदीय दलको बैठकको निर्णय अनुसार डेढ महिनापश्चात समर्थन फिर्ता लिएको हो ।

चैत २१ गते मधेस सरकारबाट बाहिरिए पनि एमालेले सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो ।

मधेस सरकारमा ४ वटा मन्त्रालय सम्हाल्दै आएको एमाले गत चैत २१ गते नै सरकारबाट बाहिरिएपनि सरकारलाई भने समर्थन कायमै राखेको थियो ।

एमालेका चार मन्त्री र एक राज्यमन्त्रीले मुख्यमन्त्री यादवलाई राजीनामा बुझाएर सरकारबाट बाहिरिएका थिए ।

भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, महिला बालबालिका युवा तथा खेलकुदमन्त्री मोहम्मद जयद आलम, गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंह, कानून न्याय तथा प्रदेशसभा मामिला मन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री केशव रायले पदबाट राजीनामा दिएका थिए ।

गत पुस १० गते एमाले केन्द्रसँगै मधेस सरकारमा पनि सहभागी भएको थियो । तर, राष्ट्रपति निर्वाचनमा माओवादीले गठबन्धन बदलेसँगै केन्द्र सरकारबाट बाहिरिएको एमालेले चैत २१ गते मधेस सरकारसमेत छाडेको थियो ।

मधेस प्रदेशसभामा नेकपा एमालेका २५ जना प्रदेशसभा सदस्य छन् । यो दल प्रदेशको सबैभन्दा ठूलो दल हो ।