विराटनगर, १ जेठ । मोरङ प्रहरीले बैंकबाट पासवर्ड ह्याक गरेर पैसा निकाल्ने एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटचौक–५ बस्ने ३६ वर्षीय देवराज सिग्देल रहेका छन् । उनले जिल्लाको सुन्दरहरैंचा नगरपालिका विराटचौकमा रहेका २ वटा बैंकबाट पासवर्ड ह्याक गरेर पैसा निकालेका थिए ।

सुन्दरहरैचा नगरपालिका–४ दुलारीस्थित रमेश आचार्यले दर्ता गरेर आफ्नै घरमा सञ्चालन गर्दै आएको आर ए भिजन एकाउन्ट सोलुसन प्रालि फर्मका एकाउन्टेन समेत रहेका सिग्देलले रमेश आचार्यको नबिल बैंक शाखा कार्यालय विराटचोकमा रहेको खाताबाट पासवर्ड ह्याक गरी पैसा निकालेका थिए ।

प्रहरीका अनुसार उनले विभिन्न समयमा २८ हजार एक सय र आचार्यका काका ओमनाथ आचार्यको माछापुच्छ्रे बैंक शाखा कार्यालय विराटचोकमा रहेको खाताबाट पनि पटकपटक गरेर ६६ हजार आठ रुपैयाँ पैसा निकालेका छन् ।

पक्राउ परेका सिग्देलको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।